
शुक्रबार राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।
यस्तै, कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ ।
घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् ।
स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा शुक्रबार रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताए ।
उनकाअनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकोप्टरको प्रयोग गरिएको छ ।
सुर्खेतमा रहेको हेलिकोप्टर अहिले नेपालगन्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ ।
बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ ।
यसैबीच, पूर्वपश्चिम राजमार्गअन्तर्गत् बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए ।
राप्ती नदीको तह बढेर अहिले ८.५८ मिटर पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मिटर सामान्य मानिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्