Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढी र पहिरोमा परी ४५ जनाको ज्यान गयो, अधिकांश सडक अवरुद्ध


0
Shares

सुनसरी, सिन्धुली, बाँके, झापा, मोरङ, बारा, सप्तरी, सर्लाही, दाङ, पाल्पा, बर्दिया, मकवानपुरलगायतका जिल्लामा गरी अहिलेसम्म ४५ जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर कयौं बेपत्ता भएका छन् ।

पूर्वी तराईका अधिकांश स्थान डुवानमा परेका छन् । सयौं घर वस्ती डुवानमा पर्दा हजारौंको विचल्ली भएको छ ।

सयौं विघा जमिन र बालीनालीमा पनि क्षति पुगेको छ । अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा शनिबार राति गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।

यसैबीच भारी वर्षाले रत्नराजमार्गअन्तर्गत हर्रे–कोहलपुर सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै पहिरो जाँदा सवारीसाधन ठप्प भएका छन् ।

उता, दुई दिनदेखिको अविरल वर्षाले मकवानपुरको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वाग्मती गाउँपालिका वडा नं १, फापरबारीका पञ्चकुमार कुमाल र बकैया गाउँपालिका वडा नं ६ का वीरबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै मकवानपुरकै बकैया गाउँपालिकास्थित मन्थलीमा शनिबार राति गएको पहिरोमा परेर मंगलसिंह न्यासुरको परिवारका छ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।

यता, पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ मा एक महिलाको शव फेला परेको छ । राप्ति ८ भवानीबजारमा आज बिहान एक महिलाको शव फेला परेको हो ।

शनिबार राति पम्फा खोलामा आएको बाढीले भवानीबजार डुबानमा परेको थियो । आइतबार बिहान झाडीमा शब अड्किएको देखेपछि स्थानीयले महिलाको शव निकालेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन ।