
सुरक्षाकर्मीको ट्रकलाई लक्ष्यगरी केही आतंककारीले गरेको बम विस्फोटमा परी मृत्यु भएका १५ जनामध्ये आठजना सुरक्षाकर्मी रहेका सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त विस्फोटको घटनामा परी अन्य ३० जना घाइते भएका पाकिस्तानी सैनिक अधिकारीले जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ ।
बालुचिस्तान प्रान्तमा पर्ने क्वेटामा स्थानीय समयअनुसार शनिबार बेलुका ९.२० मा सुरक्षाकर्मीहरुलाई लिएर आइरहेको ट्रकलाई लक्षित गरी विस्फोटन गराइएको थियो ।
क्वेटाको निकै व्यस्त मानिने पशिन चोकमा बम विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता एन्वार उल हक काकारले जानकारी दिए ।
पाकिस्तानी सेनाले पनि घटनामा आठजना सुरक्षाकर्मी सहित १५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । यस विषयमा आक्रमणकारीहरुबाट कुनै प्रतिक्रिया आएको छैन ।
घटनास्थललाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । मृतकहरुको शव उठाइएको छ भने घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार गरिएको छ ।
अस्पतालका अधिकारीहरुले घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताएका छन् ।
विस्फोटनको प्रकृतिका बारेमा अहिलेसम्म पनि केही स्पष्ट हुन सकेको छैन । तर, पनि केही स्थानीय सन्चारमाध्यमहरुले भने आत्मघाती हमला भएको बताएका छन् । सरकारी अधिकारीहरुले अहिलेसम्म केही बताएका छैनन् ।
विस्फोटनबाट उत्पन्न आगोले जलेर दुई ओटा कार, चार रिक्सा र दुई ओटा मोटरसाईकल नष्ट भएका छन् । केही भवनहरुमा पनि क्षती पुगेको अधिकारीहरुले बताएका छन् ।
विस्फोटनका बारेमा अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन । पाकिस्तानका राष्ट्रपति मम्नुन हसिनले घटनाको निन्दागर्दै घाइतेहरुको उपचारमा ध्यान दिन सरोकारवाला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्