यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।
यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो ।
मुलुकभर बाढीपहिरोका कारण आवत–जावत गर्न समस्या परेको भन्दै परीक्षा एकहप्ता पछाडि सार्नु परेको प्रमुख पौडेलले बताए ।
देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउन लागि शिक्षा ऐन–२०२८ (आठौं संशोधन)ले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो ।
परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ । प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे तापनि १५ हजार ६९० ले मात्र दरखास्त दिएका थिए ।
आन्दोलनरत् अस्थायी शिक्षक संघर्ष समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले परीक्षा सारेर आफ्ना माग पूरा गरेको बताउँदै शिक्षा ऐन संशोधन गरी परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्ती दिइने व्यवस्था गर्नुपर्ने माग गरे ।
यसैबीच, आयोगका अध्यक्ष र सदस्यहरुले पाँचदिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको आयोगले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्