
सन्तोष राउत
सोलुखुम्बु, माघ ८ । आइतबार खाजा खाने समय भएपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले चिउरा खरिद गर्न एक कर्मचारीलाई पठाए । बजारबाट किनेर ल्याएको चिउरा मुखमा हालेसँगै तितो र फुस्स गनायो । प्याकेट मगाएर हेर्दा म्याद सकिएको फेला परेको थियो । त्यसपछि तत्काल सम्बन्धित पसलमा चिउरा बरामदको पत्र तयार पारी सुरक्षाकर्मीसहित कर्मचारी खटाइयो ।
खटिएको कर्मचारीले पसलमा पुगेर पत्र थमाउदै भने, ‘हुलास’ नामको झुरुम झुरुम चिउरा जति छन्, सबै निकाल्नुस् र अघि तिरेको पाँच सय पनि फिर्ता दिनुस् । सल्लेरीस्थित राजु स्टोरका सञ्चालकले प्रशासनको पत्रका आधारमा प्याकेटका १८ पोका चिउरा निकाले । प्रशासनले बोरामा प्याक गरी बरामद ग¥यो । बरामद गरिएको चिउरामा २०७५ साउन १४ गते प्याकेजिङ गरिएको मिति राखिएको छ भने प्याकेजिङ मितिको ९० दिनसम्म उपभोग गर्र्न मिल्छ ।
यसरी प्रजिअ आफैंले म्याद गुज्रिएको खाद्य वस्तु उपभोग गर्न परेपछि जिल्ला प्रशासन सोलुखुम्बुले लामो समयपछि सदरमुकाम सल्लेरीमा बजार अनुगमन गर्दा करिब एक लाख मूल्य बराबरको खाद्य बस्तु बरामद गरेको छ । अनुगमनका क्रममा सल्लेरीको नयाँ बजारदेखि जिरो प्वाइन्टसम्मका १२ वटा पसलबाट उक्त मूल्य बराबरको म्याद नाघेका खाद्य सामग्री बरामद गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी राना मगरले बताए ।
स्थानीय उपभोक्ताको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवालाको सहभागितामा सोमबार बजार अनुगमन गरिएको हो । जिल्ला प्रशासनको नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमन गरिएको सोलुखुम्बुका प्रजिअ राना मगरले जानकारी दिए ।
अघिल्ला वर्षहरुमा बजार अनुगमन हुने गरे पनि छिटपुट बाहेक अधिकांश अनुगमन झारो टार्नेमात्र हुने गरेका थिए । उपभोक्ताको अधिकारमाथि खेलवाड गर्ने अधिकार कसैको नभएको भन्दै प्रजिअ राना मगरले जिल्लाको दुर्गम क्षेत्रमा म्याद गुज्रिएका खाद्य बस्तु विक्री भईरहेको भन्ने जानकारी प्रसाशनमा आएकाले त्यस्ता ठाउँहरुमा पनि प्रशासनले अनुगमन गर्ने बताए ।
अनुगमनबाट २२१ प्याकेट बिस्कुट, १४४ बोतल फ्यान्टा, रियल जुस र बुस्ट जुस गरी २२ वटा, खाद्य पदार्थ र पेय पदार्थ बरामद गरिएको प्रशासनले जनाएको छ । जिल्लामा आउने सामान र जिल्लाको सदरमुकामबाट जिल्लाका अन्य स्थानमा जाने सामानको अनुगमन गरी म्याद सकिएका सामान विक्री गरिएको पाइएमा कानुनअनुसार कारवाही गरिने प्रसाशनले जनाएको छ ।
जिल्लामा खाद्य शुद्धता अभियान सञ्चालन गर्ने र हरेक पसल, होटल र स्टोरमा कडाईका साथ अनुगमन गर्ने प्रजिअको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुँदै आएको अनुगमनमा अबदेखि आफैँ उपस्थित हुने प्रजिअ राना मगरले बताए ।
प्रतिक्रिया दिनुहोस्