सरकारले विभिन्न जिल्लामा राहत वितरण गरिरहेको दाबी गरे पनि मोरङका बाढी पीडितहरुले भने अझै राहत पाउन नसकेको गुनासो गरेका हुन् ।
बाढी र डुवानका कारण बिस्थापित भएका मोरङका सर्वसाधारणको अवस्था नाजुक बन्दै गएको छ ।
भीषण बाढीपछि घरवार विहीन भएर बिद्यालय, पार्टी प्यालेस, नहरको डिलमा बसिरहेका पीडितहरुको अवस्था दयनीय भएको हो ।
उनीहरुले खान र शुद्ध पिउने पानीसमेत पाएका छैनन् । त्योसँगै प्रभावितहरु बिरामीसमेत पर्न थालेका छन् । घर न घाटका भएका उनीहरुले तत्काल राहतको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।
डुवानका कारण घर पनि भत्किएकाले पानी सुक्दै गए पनि थातथलोमा फर्कने अवस्था छैनन् । मोरङको केसलियाको डिलमा करिव ४० घर परिवार बाढीपीडित बसेका छन ।
उनीहरुले कतैबाट राहात नपाएको वताए । आफूसँग भएको रकमसमेत त्रिपाल र कपडा किन्नै ठिक्क भएका उनीहरु बताउँछन् ।
मोरङमा वाढी र डुवानले ३ हजार २ सय १ घरमा क्षति पुगेको छ । ११ हजार ४ सय २० परिवार विस्थापित छन । डुवानमा ८ हजार ५ सय परेका छन् ।
विस्थापितको संख्या अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बाढीमा ठूलो संख्यामा चौपायासमेत मरेको बताए ।
मोरङमा बाढी र डुवानमा परी १७ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता छन् ।










प्रतिक्रिया दिनुहोस्