२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोसीमा बगाइएका बालकको परिवारलाई उपराष्ट्रपतिपुत्र दिपेशद्वारा आर्थिक सहयोग


0
Shares

उनले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गरेका हुन् ।

बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएकाले उनको परिवारले कोसी नदीमा शव बगाएका थिए ।

पैसा नभएर मर्कामा परेका सदाका परिवारलाई आफ्नो व्यक्तिगततर्फबाट रु २० हजार सहयोग गरेको पुनले बताए ।

साथै, पीडित परिवारलाई उनले दाल, चामल, नुन, तेललगायतका खाद्यान्न सहयोग गरे ।

त्यसैगरी, मृतक बालकका परिवारलाई नेपाल तरुण दलले पनि किरिया खर्चबापत रु २५ हजार प्रदान गरेको छ ।

तरुण दल केन्द्रीय सभापति जितजङ बस्नेतले पठाएको सो रकम एक कार्यक्रमबीच तरुण दलका जिल्ला सभापति अर्जुनकुमार यादवले मृतकका बुबा फुदन सदा र आमा विमली सदालाई प्रदान गरेको बताइएको छ ।

बाढीबाट सप्तरीमा ६जनाको मृत्यु
यसैगरी, एक हप्ताअगाडि वर्षासँगै आएको बाढीका कारण सप्तरीमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।

सप्तरीमा बाढीबाट मृत्यु हुनेहरुमा राजविराज नगरपालिका–१५ देउरी-भरुवाका डोमी यादव, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–६ साविकको कोइलाडी निवासी पाँच वर्षीय कमलु सदा, शम्भुनाथ नगरपालिकाका सदा थरका ११ वर्षीय एक बालक, डाक्नेश्वरी नगरपालिका वडा नम्बर–८ गम्हरिया प्रवाहा निवासी ६५ वर्षीय नथुनी राम, बेल्ही चपेना गाउँपालिका–४ का ३२ वर्षीय कमला मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित महुलीखोलामा भैंसी चराएर घर फर्कंदै गरेका स्थानीयवासी ५५ वर्षीय महेन्द्र रामको मृत्यु भएको छ ।

घरदेखि उत्तरतर्फको पलारबाट भैंसी चराएर घर आउनेक्रममा सो खोलामा लडेपछि उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यस्तै, कमलु सदाको बाढीका कारण उपचारको अभावमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक सदाको अन्तिम संस्कार गर्ने ठाउँ नपाएपछि उनको काकाले कोसीको पानीमै शव बगाएका थिए ।

यसअघि, गत बिहीबार खाँडो खोलामा सेना र प्रहरीसँग तटबन्ध रोकथाम गर्नेक्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका–१५ देउरी-भरुवा गाउँका ५५ वर्षीय डोमी यादव बेपत्ता भएका थिए ।

यादवको शव हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ । रासस