१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


प्रदेश नम्बर–७ मा एक लाख मतदाता थपिए


0
Shares

गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत् सुदूरपश्चिमका ९ ओटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।

निर्वाचन आयोगले सुरुआतमा साउन पहिलो सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।

केही दिनअघि पुनः भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलनकार्यका लागि समय दिइएको जिल्ला निर्वाचन कार्यालय कन्चनपुरका निर्वाचन अधिकारी केशवसिंह भण्डारीले जनकारी दिए ।

शुक्रबारसम्म सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा नयाँ मतदाता थपिएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत प्रेमराज भट्टले १३ ओटा स्थानीय तह रहेको कैलालीमा बिहीबारसम्म ५३ हजार नयाँ मतदाताले फोटोसहितको नामावली संकलन गराएको जानकारी दिए ।

‘शनिबारसम्म अझै केही संख्यामा वृद्धि हुन्छ’–उनले भने–‘बिदाको दिनसमेत यहाँका हरेक तहमा नामावली संकलन गर्ने कार्य भइरहेको छ ।’

त्यसैगरी, अर्को जिल्ला कन्चनपुरमा भने २२ हजार नयाँ मतदाता थपिएका छन् । यहाँ पुरुषभन्दा महिला मतदाता बढी थपिएको जिल्ला निर्वाचन कार्यालय कन्चनपुरका कम्प्युटर अपरेटर प्रकाश भट्टले जानकारी दिए ।

९ ओटा स्थानीय तह रहेको कन्चनपुरमा गत असार १४ गतेको स्थानीय तहको निर्वाचनअघि दुई लाख ३५ हजार मतदाता रहेका थिए ।

कन्चनपुरमा हालसम्म १० हजार सातजना पुरुष र १२ हजार ८४५ महिला नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

साउन पहिलो सातादेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनकार्यमा जिल्लाभरका स्थानीय तहमा उत्साहजनक सहभागिता रहेको छ ।

त्यसैगरी, सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा हालसम्म सात हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीकाअनुसार यहाँका १० ओटै तहमा नयाँ मतदाता नामावली संकलन भइरहेको छ ।

बैतडी निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टले जिल्लभरमा हालसम्म सात हजारको संख्यामा नयाँ मतदाता थपिएको जानकारी दिइन् । यसअघि, बैतडीमा एक लाख २५ हजार मतदाता रहेका थिए ।

उता, दुई नगरपालिका र सात गाउँपालिका गरी ९ ओटा स्थानीय तह रहेको दार्चुलामा पाँच हजार १०३ मतदाता थपिएका छन् । दार्चुलामा यसअघि ७३ हजार ५१ मतदाता रहेका थिए ।

दार्चुलामा पनि निकै उत्साहपूर्ण ढंगले नयाँ मतदाता स्थानीय तहमा नाम दर्ता गराउन आइरहेका छन् ।

त्यसैगरी, पहाडी जिल्ला डडेल्धुरामा पनि ६ हजार २५१ जना मतदाता थपिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५ हजार ७०० मतदाता रहेको डडेल्धुरामा सातओटा स्थानीय तह रहेका छन् ।

त्यस्तै, बझाङ जिल्लामा पनि नयाँ मतदाताको फोटोसहितको मतदाता नामावली संकलनकार्य सबै तहमा भइरहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

१२ ओटा स्थानीय तह रहेको बझाङमा यसअघि ९७ हजार ६०० मतदाता रहेका थिए ।

डोटी जिल्लामा बितेको एक महिनामा पाँच हजार ८०० मतदाता थपिएका छन् । ९ ओटा तह रहेको डोटीमा पनि स्थानीय तहसम्म नयाँ मतदाताको नामावली संकलनकार्य भइरहेको छ । डोटीमा यसअघि एक लाख चार हजारभन्दा बढी मतदाता रहेका थिए ।

चार नगरपालिका र ६ गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको अछाम जिल्लामा पनि यसपटक १० हजार ५९१ मतदाता थपिएका छन् । यसअघि अछामा एक लाख २७ हजार ७४२ मतदाता रहेका थिए ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि नयाँ मतदाता थपिनेक्रम जारी छ । हालसम्म चार हजार ७३९ जना नयाँ मतदाता बाजुरामा थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराकाअनुसार यसअघि बाजुरामा ६४ हजार ९५० मतदाता रहेका थिए । बाजुरामा चार नगरपालिका र पाँचओटा गाउँपालिका रहेका छन् ।

मतदाता नामावली पुनः संकलन गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिँदा जिल्ला निर्वाचन कार्यालयमामात्रै संकलन थालिएपनि मतदाताले स्थानीय तहमा संकलन गर्न माग राखेपछि सबै स्थानीय तहमा नामावली संकलन थालिएको हो । रासस