Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


‘सुनौला हजार दिन’बारे शिक्षा दिँदै कर्णालीका आमाहरु


0
Shares

 

तिला गाउँपालिका–३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्दै गएको छ ।

‘सुनौला हजार दिन’ सञ्चार अभियान, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथ सञ्चार केन्द्रले विभिन्न बैठक भेलामा दिएको ज्ञानका सीपका आधारमा शिक्षा दिन थालिएको महावै आमा समूहकी अध्यक्ष कालिका भट्टराईले जानकारी दिइन् ।

“हामी आमा समूहको बैठक राख्छौँ, आमा र शिशुको पोषित कसरी हुन्छन् भनेर पोषणयुक्त खानाका विषयमा छलफल गर्छौं,” अध्यक्ष भट्टराईले भनिन् ।

प्रौढ कक्षा पढेर सामान्य आफ्नो हस्ताक्षर गर्नसक्ने समूहका आमा सदस्य सुनेर सिकेका आधारमा सुनौला हजार दिनका विषयमा घर बस्तीमा गएर सिकाउँछन् ।

आफूहरुले बूढापाका, सासू बुहारीका साथै विवाह गर्न योग्यका जोडीलाई पनि ‘सुनौला हजार दिन’ महत्व र प्रभावबारे बुझाउँदै आएको उनको भनाइ थियो ।

त्यसमा तिला–३ का स्वयंसेविका सत्यदेवी भट्टराई र देवी गिरीले आमाहरुलाई यसका विषयमा सहजीकरण गर्दै आएको उनको भनाइ थियो ।

स्वयंसेविका देवी गिरीले गर्भवती भएको नौ महिना बराबर २३० दिन र बच्चा जन्मेदेखि दुई वर्षसम्मको ७३० दिन गरेर एक हजार दिन हुन्छ भनेर गाउँका सबैलाई सिकाउँदै आएको बताइन्।

यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले यसलाई ‘सुनौला हजार दिन’ भनिएको कुरा प्रष्ट्याउँदै आएको उनको भनाइ थियो ।

त्यसैगरी, स्वयंसेविका सत्यदेवी भट्टराईले ‘हरेक बार, खाना चारदेखि वृद्धि विकास गर्ने, रोग नलाग्ने र शक्ति दिने’ खानाका बारेमा आफ्नो वडाका बस्ती बस्तीमा जानकारी दिँदै आएको बताइन् ।

“हामीले गर्भवास्था र बच्चा दुई वर्ष नहुञ्जेलसम्मका आमालाई, गेडागुडीको झोल, हरिया सागपात, पहेला फलफूल, अण्डा, माछा, मासु, घ्यू, दूध, दहीजस्ता पोषकतत्व खान र परिवारलाई खुवाउन भन्दै आएका छौँ,” उनले भनिन् ।

उनले गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र विभिन्न खोप लगाउनेबारे पनि बुझाउँदै आएको जनाइन् ।

त्यतिमात्र नभएर गरिब घर परिवारका गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेँडागुडी, सागपात र अन्य चीज मिलाएर खान सुझाव दिएको उनको भनाइ थियो ।

यता डेढ वर्षीय बच्चाकी आमा रामदेवी हमालले पछिल्लो समयमा स्वयंसेविका र सुनौला हजार दिन कार्यक्रमले हामी आमा र बच्चालाई स्वस्थ हुन सहयोग पुगेको बताइन ।

सुत्केरी आमा पशुपति शाहीले ‘सुनौला हजार दिन’ कार्यक्रमले बच्चासहित कर्णालीका आमाहरुको स्वास्थ्य सुरक्षामा निकै ठूलो सहायता पुगेको जनाइन् ।

सुनौला हजार दिन सञ्चार अभियान जुम्लाका जिल्ला संयोजक धर्मराज शाहीले कार्यक्रम लागू भएका साविकका १० गाविसमा राम्रो प्रभाव पर्दै गएको बताइन् ।

उनले विशेषतः गर्भमा रहेदेखि नौ महिनाका महिला र दुई वर्ष उमेर पुगञ्जेलसम्मका बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित गर्न यो कार्यक्रम सञ्चालन गरिएको जनाइन ।

“पछिल्लो समयमा यहाँका महिलाको चासो, सक्रियता र जागरुकताले कार्यक्रम प्रभावकारी बन्दै गएको छ,” उनले भनिन् ।

उनले थपिन “अभियान सञ्चालन भएका गाविसका आमाहरुलाई हामीले सन्तुलित भोजनका लागि के खाने भन्ने कुरा सिकाउनु पर्दैन, बरु यी तत्व कमी हुँदा आमा र बच्चा कुपोषित हुन्छन् भनेर हामीलाई तर्क गर्छन्, ।”

उनका अनुसार जुम्लाका साविकका छुमचौर, गज्र्याङ्कोट, तलिउम, तातोपानी, कुडारी, रारालिही, घोडेमहादेव, महावैपाथरखोला, कालिकाखेतु र बड्की गाविसमा सञ्चालित यो कार्यक्रमअन्तर्गत १४५ गर्भवती महिलाको पोषण सुरक्षामा ध्यान दिइएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले महिलाले आफ्नो भाषा र व्यावहारिक रुपमा दिएको स्वास्थ्य शिक्षाको प्रभाव सकारात्मक परेको जनाए ।

जुम्लाका महिला स्वयंसेविकाको योगदानको बयान गर्दै उनले ‘सुनौला हजार दिन’ सञ्चार अभियान कार्यक्रम लागू भएका गाविसमा प्रभावकारी बन्दै गएको बताए ।

पुरुषहरु पनि यो कार्यक्रममा जानकार भए आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार आउने उनको सुझाव थियो ।

तिला गाउँपालिका–३ कुडारी स्वास्थ्य चौकी इञ्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले यो कार्यक्रमले महिलामा जागरण आएको बताए ।

उनका अनुसार विगतभन्दा अहिले गर्भावास्थामा निरन्तर स्वास्थ्य चेकजाँच गर्नेको संख्यामा वृद्धि आएको छ । रासस