Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढीले बगाएको थप एक गैंडा भारतमा भेटियो


0
Shares

बाढीले नै रिजर्भ क्षेत्रमा पुर्‍याएको एक गैंडालाई नियन्त्रणको प्रयास गरिरहेकाबेला थप अर्को गैंडा भेटिएको हो ।

गैंडाको उद्धारका लागि गत सातादेखि नै सोही क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार एउटा गैंडा नियन्त्रणको प्रयास गरिरहेकाबेला बिहीबार अर्को गैंडा पनि फेलापरेको हो ।

पहिला फेलापरेको गैंडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर ल्याउने प्रयास बुधबार र बिहीबार असफल भएको उनले बताए ।

बाढीले बगाएपछि डराएको सो गैंडा भागेकाले डार्ट गर्न कठिन भएको हो । मान्छे र जनावरको आवाज सुन्नेबित्तिकै गैंडा भाग्ने गरेको अर्यालले बताए ।

उनले भने–‘डार्ट गर्नका लागि गैंडानजिक पुग्नुपर्ने हुन्छ । त्यो नै कठिन भएको छ ।’

शुक्रबार पनि बिहानैबाट गैंडा नियन्त्रणको प्रयास सुरु गरिएको उनले बताए । ‘जुन गैंडा सम्भव हुन्छ त्यसैलाई हामी पहिले डार्ट गर्छाैं’–अर्यालले भने ।

भारतीय अधिकारीहरुसँगको समन्वयमा डार्ट गरेर बेहोस बनाएर गैंडा ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० जना र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ ।

गैंडालाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनओटा हात्ती रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैंडालाई डार्ट गर्ने गरिन्छ ।

यसअघि, भारतबाट चारओटा गैंडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैंडामध्ये दुईओटा पोथी माउ थिए भने एक भाले र एक पोथी बच्चा थिए ।

बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैंडा पुर्‍याएको र दुई गैंडा मृत अवस्थामा भेटिएका थिए । रासस