९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


धर्मगुरु बलात्कारी ठहरः भारतमा भीषण झडपमा परी ३० जनाको मृत्यु


0
Shares

हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमित रामरहिम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो ।

प्रदर्शनकाक्रममा अन्य २०० घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यद्यपि, सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारीअनुसार जारी प्रदर्शनकाक्रममा कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएका छन् ।

गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुखसमेत रहेका गुरमितका समर्थकद्वारा भएको प्रदर्शनकाक्रममा जारी झडपमा परी देशका विभिन्न सहरमा उनीहरुको मृत्यु भएको हो ।

हरियाणा राज्यको पञ्चकुला सहरमा गुरमितका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी–साधनहरु, भवनहरुलगायतमा तोडफोड गरेका छन् ।

उनीहरुले कतिपय ठाँउमा आगजनीसमेत गरेका सरकारी अधिकारीहरुले बताएका छन् ।

हरियाणा र छिमेकी पन्जाबमा मोबाइल फोनसेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।

गुरमितले आफ्ना दुईजना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनीलाई दोषी भएको जनाएको थियो ।

सीबीआईका न्यायाधीश जगदीप सिंहकाअनुसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताएका छन् ।

सिंहकाअनुसार गुरमितलाई सातदेखि १० वर्षसम्मको आजीवन कैद हुनसक्ने छ ।

प्रदर्शनकाक्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मीसहित झन्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले हरियाणा, पन्जाब र राजस्थानसमेतका सहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फायर गरेको प्रदर्शनकारीले जनाएका छन् ।

प्रदर्शनकारीले जुलुसमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् ।

गुरमितको विश्वभरि ६ करोड समर्थक रहेका अनुमान गरिएको छ । रासस/एएफपी