नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि चितुवालाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।
शनिबार इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरु गरेकोे प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।
‘चितुवाले मानवबस्तीमा पसेर मानिसमाथि नै आक्रमण गर्न थालेपछि हातहतियारसहित १७ जनाको प्रहरी टोली खटाइएको छ’–उनले भने ।
प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए ।
प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्नका लागि प्रयास गरिरहेको छ ।
गत बिहीबार बिहान आफ्नै मकैबारीमा घाँस काटिरहेका बेला चितुवाले मेलौली नगरपालिका–९ असुरकी ४२ वर्षीया कुन्धादेवी भट्टलाई आक्रमण गरेपछि चितुवा मार्न प्रहरी खटाइएको हो ।
चितुवाले मानबवस्तीमा आतंक मच्चाउन थालेपछि स्थानीयवासीले सुरक्षाको माग गरेका थिए ।
गत वर्ष भदौमा पनि चितुवाले लगातार तल्लासोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिएपछि १५ जना प्रहरी हतियारसहित परिचालन गरिएपनि चितुवा मार्न सकिएको थिएन ।
तल्लोसोराडको साविकका कुलाउ, विशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेवलगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।
वि.सं. २०६८ देखि चितुवाले तल्लोसोराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्यांक छ ।
चितुवालाई मार्नका लागि २०६९ सालमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकहरुको टोली खटिएको थियो । त्यतिबेला चितुवा फेलापार्न नसकेर टोली फर्किएको थियो ।










प्रतिक्रिया दिनुहोस्