१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


बारामा चुनावी सरगर्मी ह्वात्तै बढ्यो (भिडियो)


0
Shares

सातायता निर्वाचन कार्यालयले सरोकारवालासँग समन्वय गरी बैठक, छलफल परामर्शलाई तीव्रता दिँदै प्राविधिक काम पनि गरिरहेको छ ।

स्थानीय तहको अन्तिम तथा तेस्रो चरणको निर्वाचनमा सबै राजनीतिक दलहरु जुटेपछि निर्वाचन आयोगलाई पनि निकै सहज भएको हो । आयोगले प्रत्येक स्थानीय तहमा निर्वाचन कार्यालय खोलेर काम गरिरहेको छ ।

निर्वाचन सामग्रीहरु ती केन्द्रहरुमा पुर्‍याइसकिएको छ । ४५१ मतदान केन्द्र रहेको बारामा यस पटक ९ ओटा मतदानस्थल थपिएको छ ।

२ हजार ३०० कर्मचारी व्यवस्थापनमा जुटेको अयोगले यसपटक मतदाता शिक्षालाई विशेष प्राथमिकता दिएको छ ।

जसअनुसार भदौ १५ देखि ३० गतेसम्म गाउँटोल आगनमै पुगेर मतदाता शिक्षा दिइने आयोगले जनाएको छ । नमुना मतदानदेखि मतदान अधिकृतका लागि तालिम पनि यही साताभित्र गरिने भएको छ ।

सुरक्षाका दृष्टिले संवेदनशील जिल्लामा रहेको बारामा सुरक्षास्थिति पनि सामान्य बन्दै गएको छ । तीन प्रकारको सुरक्षा घेराभित्र मतदान हुने निर्वाचन अधिकृत नरेस सरार्फले जानकारी दिए ।

मतदानस्थलसम्म आउने ग्रामीण बाटोहरु बाढीले बगाएपछि मतदातालाई सहज बनाउन बिग्रेका र बगेका बाटो बनाउने काम नेपाली सेनाले थालेको पनि आयोगले जनाएको छ ।

बाढी र डुबानका कारण जिल्लाका कतिपय स्थानमा असहजता भएपनि स्थानीय मतदाता भने चुनावप्रति निकै उत्साहित देखिएका छन् ।

भारतसँगको सीमा क्षेत्रमा भने नेपाल प्रहरीले चेकजाँच तीव्र बनाएको छ । मतदान केन्द्रहरुमा कडा सुरक्षा व्यवस्था बनाइनेछ ।

प्रहरीगस्ती पनि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

३७ दल सहभागी हुने जिल्लाका १६ स्थानीय तहमा विभिन्न संघ–संस्थाले आयोगको सहकार्यमा निर्वाचनसम्बन्धी कार्यक्रम पनि गरिरहेका छन् ।

निर्वाचन सफल बनाउन आफूहरुले पनि सक्दो सहयोग गरिरहेको स्थानीय विकास अधिकारी भरतबहादुर ढुगांनाले बताए ।

दुई उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा ३ लाख ५२ हजार ८८२ मतदाता रहेका छन्

भिडियो हेर्नुहोस्