सदरमुकाममा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड र भानुजन माविको खेल मैदानलाई सार्वजनिक रुपमै प्रयोग गरिदै आएको छ । तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने तथा निरन्तरको उडानले विद्यालयको पनि आसपासका भौतिक संरचनामा क्षति समेत पुर्याउने हुँदा हेलिकोप्टर राख्न समस्या हुने भानु जन माविका प्रधानाध्यापक किशोर राई बताउँछन् ।
यता आफ्नो आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यवसायिक हेलिकप्टरहरु अवतरण गर्न दिन नमिल्ने नयाँ रणभिम गुल्मले बताएको छ । जसको कारण बिरामी र पर्यटकका लागि आकस्मिक रुपमा झिकाईएका हेलिकोप्टर विद्यालयका खेल मैदान र सुकेटारमा रहेको विमानस्थलमा समेत राख्नुपर्ने बाध्यता रहेको हेलिकोप्टर व्यवसायी ईश्वरी पौडेलको भनाइ छ ।
हेलिकप्टर अवतरण गर्नसक्ने उचित स्थान नहुँदा यात्रु तथा पर्यटकहरुले सास्ती ब्यहोर्नु परिरहेको छ । जिल्लामा विभिन्न समयमा जिल्ला बाहिरबाट हेलिकप्टर नै चार्टर गरेर आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने, बिरामी लिन तथा पुर्याउन र अन्य प्रयोजनका लागि मानिसहरु आउने गर्दछन् ।
सदरमुकाममा अत्यावश्यक प्रयोजनका लागि हेलिप्याड आवश्यक भए पनि नगरपालिकाले हेलिप्याड निर्माणका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।










प्रतिक्रिया दिनुहोस्