१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


वीरगन्जमा तात्यो चुनावी सरगर्मी, यस्तो छ जोडघटाउ (भिडियो)


0
Shares

प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका पर्साको वीरगन्जमा सबै राजनीतिक दल चुनावी जोडघटाउ गर्दै प्रचारप्रसार अभियानमा जुटिसकेका छन् ।

केही दल उम्मेदवारी घोषणासहित प्रचारप्रसारमा लागेका छन् भने केही दल उम्मेदवार चयनमा व्यस्त छन् ।

प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको नेतृत्व हत्याउन सबै दलले आ–आफ्नै रणनीति तय गरी प्रचारप्रसारमा जुटेका छन् ।

उनीहरुले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका हुन् ।

लामो समयको बन्द, नाकाबन्दी र भर्खरै आएको बाढी र डुबानको चपेटामा परेका मतदातालाई आफूप्रति आकर्षित गर्न दलहरुले आकर्षक नारा र उम्मेदवार तय गर्दै चुनावी पक्षलाई आफूअनुकूल बनाउने प्रयासमा लागेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवप्रवेशी बशरुद्दिन अन्सारीलाई मेयरको उम्मेदवार घोषणा गरिसकेको छ ।

नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका अन्सारी वीरगन्जको विकास गर्ने एजेन्डासहित आफू चुनावमा होमिएको बताउँछन् ।

संघीय समाजवादी फोरम नेपालले व्यापारी विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका व्यापारि सरावगीले पनि वीरगन्जको आमूल परिवर्तनलाई नै चुनावी एजेन्डा बताए ।

राष्ट्रिय जनता पार्टी नेपालबाट वीरगन्जको मेयरमा दुई जनाको दाबेदारी छ ।

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तव र राष्ट्रिय मधेस समाजवादी पार्टीका राजेशमान सिंहले वीरगन्जको मेयरका लागि दाबी गरेपछि राजपालाई विवाद मिलाउन हम्मेहम्मे भएको छ ।

मधेस आन्दोलनमा सक्रिय भएकाले जनताको चाहनाअनुसार आफूले मेयरको टिकट पाउने दाबी गर्छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आर्थिक तथा व्यापारिक नगरीको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई अगाडि सारेको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी घोषणा गर्न सकेको छैन । तर प्रचारप्रसार भने कांग्रेसले पनि शुरु गरिसकेको छ ।

३२ वडा रहेको वीरगन्ज महानगरमा १ लाख ८ हजार ५ सय १ मतदाता छन् ।