Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नारायणगढ-मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने


0
Shares

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ ।

एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताए ।

सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।

सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो ।

आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ ।

केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उनले बताए । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो ।

पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस