अर्कोतर्फ भूकम्पबाट क्षतिग्रस्त बनेका पुस्तकालयहरुको पुनःनिर्माण नहुँदा मूल्यवान पुस्तकहरु बोरामा थन्क्याएर राखिएको छ ।
३०० वर्ष लामो इतिहास बोकेका १ लाख ५० हजार पुस्तक बोरामा पोको पारेर राखेको देख्दा जो कोहीको मन अमिलो हुनसक्छ ।
झन्डै तीन वर्षदेखि बोरामा राखिएका पुस्तक कतै मुसाले काटेको छ । कुनै मक्किँदै, च्यातिँदै गएका छन् भने कति त राख्ने स्थान नहुँदा छरपस्टरुपमा रहेका छन् ।
भूकम्पका कारण क्षति पुगेको हरिहरभवनमा अवस्थित राष्ट्रिय पुस्तकालयको पुस्तकको बिजोग हो यो । भूकम्पलगतै ज्ञानेश्वरमा रहेको महेन्द्र भवन उच्च माध्यामिक विद्यालयमा राखिएको पुस्तक जोगाउन नै मुस्किल देखिएको छ ।
पुस्तकालय कहाँ बनाउने भन्ने अन्योलका कारण यी पुस्तक व्यवस्थित गर्न समस्या परेको हो ।
‘सरकार नै पुस्तकालय जोगाउनतर्फ गम्भीर छैन, हामीलेमात्र चाहेर के गर्नु ?’ भन्छन् राष्ट्रिय पुस्तकालयका निमित्त प्रमुख प्रेमराज अधिकारी ।
पुस्तकालयको संख्या बढाउनुपर्नेमा इतिहास बोकेका पुस्तक जोगाउन सरकारले चासो नदिनु दुःखद् भएको अधिकारी बताउँछन् ।
राष्ट्रिय पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र केशरमहलको पुस्तकालयमा भूकम्पले व्यापक क्षति पुर्याएको छ । जसका कारण ७ लाखभन्दा बढी पुस्तक बोरामा पोकोे पारेर राखिएको छ ।
नेपालमा सार्वजनिक पुस्तकाल सुरुआतको इतिहास २०५ वर्ष लामो छ । वि.सं. १९२६ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले आफूले संककलन गरेका पुस्तकलाई व्यवस्थितरुपमा राख्न केशरमहल पुस्तकालय स्थापना गरेका थिए ।
यहाँ रहेका ६५ हजार पुस्तक भूकम्पपछि बोरामा पोको पारेर राखिएको छ । रेट्रो फिटिङको गर्ने भनिएको यो पुस्तकालयको केही पनि काम अघि बढेको छैन । पुस्तक जोगाउन मुस्किल छ ।
उता, त्रिभुवन विश्वविद्यालयको पुस्तकालयको पनि हालत उस्तै छ । यस पुस्तकालयमा रहेका ४ लाख पुस्तकहरु पनि बोरामै पोको पारेर राखिएको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्