
प्रहरीले बुधबार बरामद गरेको १५ किलो सुन बिहीबार सार्वजनिक गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले पत्रकार सम्मेलन गरी सात करोडभन्दा बढी मूल्य बराबरको सुन सार्वजनिक गर्दै सातजनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पा, भक्तपुरका दीपेन्द्र थापा, राजेन्द्र खत्री, रविन खत्री, काठमाडौंका सरोज थापा, काभ्रेका विष्णु गौतम र धनुषाका दीपककुमार साह छन् ।
काठमाडौंको सामाखुसीस्थित शेर्पाको कोठाबाट प्रतिबिस्कुट एक किलो बराबरको १४ टुक्रा सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, जनकपुरमा साहको साथबाट १ किलो सुन बरामद गरिएको ब्युरोले जनाएको छ ।
२ किलो सुन भारत लगिसकेको र बाँकी ५ किलो सुन काठमाडौंमै हुनसक्ने ब्युरो प्रमुख प्रहरी नायक महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिए ।
चीनबाट रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सुन नेपाल भित्र्याइएको हो ।
यो सुन नेपालबाट भारत पठाउने गिरोहले भारततर्फ पठाउन लागेको पनि प्रहरीले आशंका गरेको छ ।
प्रहरीले अवैध सुन ओसार–प्रसारमा प्रयोग भएको एउटा भक्सवागन गाडी र एउटा स्कुटर पनि बरामद गरेको छ ।
त्यस्तै, ६०० अमेरिकी डलर र विभिन्न दरका एक हजार १९९ चिनियाँ युयान नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
ठगी गर्ने पक्राउ
प्रहरीले ‘पार्सल पठाउँछु’ भनी ठगी गर्ने सोलुखुम्बुका आङलेमी शेर्पा र गौरीगाइँको सिङसहित ओखलढुंगाका सुभास सुवेदीलाई पनि पक्रेको ब्युरोले जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्