
१३६ स्थानीय तहमा हुने निर्वाचनमा ६ हजार ९७६ जनप्रतिनिधि निर्वाचित हुनेछन् । भदौ २१ गते सबै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गर्नेछन् ।
यद्यपि, राजनीतिक दलहरुले अझैपनि उम्मेदवार चयन टुंग्याइसकेका छैनन् । आयोग पनि निर्वाचनका लागि आवश्यक पर्ने तयारीलाई अन्तिमरुप दिँदैछ ।
मतदानमा सहभागी बन्ने २६ लाखभन्दा बढी मतदाताको परिचयपत्र, मतपत्र, अन्य निर्वाचन सामाग्री सबै जिल्ला पुगिसकेको छ ।
अहिले २ नम्बर प्रदेशका ८ ओटै जिल्लालाई निर्वाचनले छपक्कै छोपिसकेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल प्रदेश नम्बर–२ को निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँछन् ।
एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकाको जनप्रतिनिधि चयनका लागि हुने निर्वाचनमा कम्तीमा ३० हजार उम्मेदवार हुने अनुमान आयोगको छ ।
प्रदेश नम्बर–२ को ८ जिल्लामध्ये सबैभन्दा बढी जनप्रतिनिधि सर्लाहीबाट चुनिनेछन् । सर्लाहीका ११ नगरपालिका र ९ गाउँपालिकाबाट एक हजार ९१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिकाबाट ९०१ जनप्रतिनिधि निर्वाचित हुँदैछन् भने सिरहाका ८ नगरपालिका र ९ गाउँपालिकाबाट ८९६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाबाट ९२९ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकाबाट ७६० जनप्रतिनिधि निर्वाचित हुँदैछन् भने रौतहटका १६ नगरपालिका र २ गाउँपालिकाबाट ८७३ जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।
प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका रहेको पर्सामा एक महानगर, ३ नगरपालिका र १० गाउँपालिकाबाट सबैभन्दा कम ६२० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
दुईओटा उपमहानगरपालिका रहेको बारामा दुई उपमहानगरसहित ५ नगरपालिका र गाउँपालिकाबाट ९०६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले अघिल्ला निर्वाचनमा मत बदरको संख्या बढेपछि यसपटक घरघरमै निर्वाचन प्रतिनिधि पठाएर मतदाता शिक्षा चलाइरहेको छ ।
मतदाता शिक्षाको प्रभावकारिता र अन्य निर्वाचन अनुगमनका लागि शनिबारदेखि नै चारजना निर्वाचन आयुक्त दुई/दुई जिल्लाको जिम्मा लिएर त्यसतर्फ गएका छन् ।
आयोगका प्रवक्ता ढकाल मतदता शिक्षालाई उच्च प्राथमिकतामा राखेर अहिले सबै ढंगबाट मतदाता शिक्षा सन्चालन भइरहेको बताउँछन् ।
यसअघिका निर्वाचन बहिस्कार गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि यो निर्वाचनमा सहभागी बन्ने भएपछि अहिले प्रदेश–२ को निर्वाचनमा कुनै अवरोध छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्