१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्धले छुँदैन उत्तर कोरियालाई, यस्तो छ कारण


0
Shares

वास्तवमा उत्तर कोरियालाई कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्धले तात्विक असर गर्दैन । उत्तर कोरियाको समग्र वैदेशिक व्यापार वार्षिक ८ देखि १० अर्ब डलर बराबर छ ।

यसमा ८० देखि ८५ प्रतिशत हिस्सा चीनसँगको व्यापार छ । बाँकी व्यापार अन्य मुलुकसँग हुन्छ ।

उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्धको असर उसको चीनसँगको व्यापारमा पर्दैन । बाँकी १५/२० प्रतिशत व्यापारमा हुने प्रतिबन्धले उत्तर कोरियालाई खासै असर गर्दैन ।

उत्तर कोरिया र अमेरिकाबीच पछिल्लो समय निकै तनाव बढेको छ । अमेरिकाले उत्तर कोरियामा आफ्ना नागरिकलाई जान रोक लगाइसकेको छ । उत्तर कोरियाले अमेरिकाको गुआम सैन्य बेसमा आक्रमण गर्ने घोषणा गरिसकेको छ । अमेरिकाले उत्तर कोरियालाई उसका उत्तेजक परमाणु कार्यक्रम तत्काल नरोके सैन्य कारवाही गर्न सक्ने चेतावनी दिदैं आएको छ । तर उत्तर कोरियाले अमेरिकाको सो चेतावनीलाई पुरै बेवास्ता गरेको प्रष्ट देखिन्छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पुनः उत्तर कोरियाबारे छलफल भएको छ । पछिल्लो समय उत्तर कोरियाले परीक्षण गरेको भनिएको शक्तिशाली हाइड्रोजन बम र त्यसले विश्व समुदायमा निम्त्याएको खतराबारे सुरक्षा परिषदको आकस्मिक बैठकमा छलफल भएको हो ।

राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले उत्तर कोरियाबाट उत्पन्न खतराबारे बैठकमा आफ्नो धारणा राखेको बताइन् । उनले भनिन्, ‘सुरक्षा परिषदका सदस्यहरुलाई अब त अति नै भयो भनेँ ।’

उनले उत्तर कोरियाको कदम रक्षात्मक नरहेको दाबीसमेत गरिन् । उनले आफ्नो ट्वीटरमार्फत सुरक्षा परिषद बैठकको जानकारी दिएकी हुन् ।

सुरक्षा परिषदका दुई सदस्य राष्ट्र रुस र चीन भने उत्तर कोरियामाथि कडा कारवाहीको विपक्षमा छन् । दुबै मुलुकसँग सुरक्षा परिषदमा ‘भिटो’ प्रयोग गर्ने अधिकार छ । त्यसैले पनि उत्तर कोरिया आफ्नो दुई मित्र राष्ट्र चीन र रुसका कारण निर्धक्क छ । रुस र चीन उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोक्नु पर्ने तथा अमेरिका र दक्षिण कोरियाले पनि संयुक्त सैन्य अभ्यास जस्ता गतिविधि रोक्नु पर्ने पक्षमा छन् । (एजेन्सी)