१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


एमालेद्वारा प्रदेश–२ का ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक


0
Shares

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार पत्रकार सम्मेलन गरी एमालेले १३६ स्थानीय तहमध्ये ११० स्थानीय तहमा उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

धनुषाका १८ सहित २६ स्थानीय तहको पनि उम्मेदवार छनोट भएपनि औपचारिक घोषणा गर्न बाँकी रहेको जनाइएको छ ।

उम्मेदवार मनोनयन दर्ताको समयअघि नै बाँकी रहेका स्थानीय तहको उम्मेदवारी पनि टुंग्याउने एमालेले जनाएको छ ।

उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव ईश्वर पोखरेलले विचार, संगठनात्मक सञ्जाल र योजनाबद्ध कामहरुको आधारमा एमाले २ नम्बर प्रदेशमा पनि पहिलो पार्टी बन्ने दाबी गरे ।

एमालेविरुद्ध देशबाहिर र भित्रका शक्ति मिलेर महागठबन्धन बनाइरहेको भन्दै पोखरेलले मतदाता प्रभावित पार्न सरकारले राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाए ।

मंगलबार सार्वजनिक गरिएका उम्मेदवारको नामावलीअनुसार एमालेले प्रदेश नम्बर–२ को एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई अघि सारेको छ ।

प्रदेश नम्बर–२ मा रहेका ३ उपमहानगरपालिकामध्ये कलैया उपमहानगरपालिकाको मेयरमा विनोद शाह र उपमेयरमा प्रतिमा यादव, जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरीलाई अघि सारिएको छ ।

यस्तै, जनकपुर उपमहानगरपालिकाको मेयरमा लक्ष्मीनारायण भगत र उपमेयरमा पुनमकुमारी मिश्रलाई अघि सारेको छ ।

तर, धनुषाका अरु स्थानीय तहसहित २६ ओटा तहमा उम्मेदवार घोषणा गर्न बाँकी छ ।