
सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ ओटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मनोनयन दर्ता भएको राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सप्तरीका सबै स्थानीय तहमा बुधबार बिहानैदेखि राजनीतिक दलका नेता–कार्यकर्ताहरुको चहलपहल देखिएको थियो ।
बाजागाजासहित मुख्य निर्वाचन अधिकृत र अधिकृतका कार्यालयमा पुगेका उमेदवारहरुले उत्साहपूर्णरुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
ठूला तथा प्रमुख दलका अतिरिक्त कतिपय स्थानीय तहमा स्वतन्त्ररुपमासमेत उम्मेदवारी दर्ता भएको छ ।
बुधबार राजविराज नगरपालिकामा सबैभन्दा पहिला संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार भीमराज यादवको मनोनयन दर्ता भएको थियो । अरु उम्मेदवारहरुले भने साइत जुराएर मध्याह्न १२ बजेपछिमात्रै मनोनयन दर्ता गराएका थिए ।
राजविराजमा फोरम नेपालकातर्फबाट उपमेयरमा किरण साहको उम्मेदवारी परेको छ ।
राजविराजमा नेकपा एमालेका तर्फबाट मेयर र उपमेयरमा क्रमशः सुखराम यादव र ममता चौधरी, माओवादी केन्द्रबाट अनिस अन्सारी र सुमित्रादेवी यादव, नेपाली कांग्रेसका ध्रुव देव र सुशीलादेवी यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शम्भु यादव र साधना झा, नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी र पवनीदेवी खंगको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, मेयरका लागि राप्रपा प्रजातान्त्रिकबाट शैलेन्द्रकुमार साह तथा राप्रपाबाट अमितकुमार यादवको मनोनय दर्ता भएको छ ।
यसैगरी, डाक्नेश्वरी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर र उपमेयरमा क्रमशः नारायण यादव र रामकुमारी पण्डित, संघीय समाजवादी फोरमबाट बेचु साह र मिराकुमारी यादव, राजपाबाट शिवनाराण साह र इन्दुदेवी यादव, एमालेबाट रामलखन मुखिया र मिन्टु चौधरी, नेपाल लोकतान्त्रिक फोरमबाट विलट चौधरी र नाजो खातुन, माओवादी केन्द्रबाट कर्मलाल यादव, कोशिलादेवी चौधरी, नयाँ शक्तिबाट उमेश परमाणि र आरती चौधरी, स्वतन्त्रबाट मेयरमा चन्द्रकान्त चौधरी र बालकृष्ण चौधरी तथा उपमेयरमा मूर्तिदेवी राम र देवी मरियम खातुनले उम्मेदवारी दिएका छन् ।
यसैगरी, छिन्नमस्ता गाउँपालिकामा राजपाले अध्यक्ष र उपाध्यक्षमा क्रमशः विमलादेवी यादव र उषाकुमारी मण्डललाई उम्मेदवार बनाएर दुवै पदका लागि महिला उम्मेदवारको नाम दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्