Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणको काम आधा बाँकी


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, माघ २ । पछिल्लो ८२ वर्षमा नेपालले २०७२ वैशाख १२ गतेकोजस्तो राष्ट्रिय विपद् कहिल्यैपनि भोगेको थिएन ।

सो विनाशकारी भूकम्पपश्चात् नेपालले यसअघि कहिल्यै नगरेको अभ्यास पनि गरिरहेको छ ।

भूकम्पपीडितलाई राहत वितरण र पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरेर ठूलो मात्रामा स्रोत परिचालन गरी संरचना निर्माणको काम भइरहेको छ ।

पुनःनिर्माणको नाममा अहिलेसम्म दुई खर्ब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । गएको तीन वर्षमा तीन लाख ४७ हजार ८१७ परिवारले नयाँ घर बनाएका छन ।

प्राधिकरणको तथ्यांकअनुसार पाँच लाख ७८ हजारभन्दा बढी घर बनिरहेका छन् । सरकारी अनुदान पाउनयोग्य ८ लाख ११ हजार १५४ परिवारको पहिचान भएको छ । लाभग्राहीमध्ये ९२ प्रतिशतसँग अनुदान सम्झौता भएको प्राधिकरणको तथ्यांक छ ।

पाँच वर्षमा पुनःनिर्माण सक्ने लक्ष्य लिइएको भएपनि तीन वर्ष बितिसक्दा आधा हाराहारीमामात्रै उपलब्धि हासिल भएको छ । अब दुई वर्षमा बाँकी निजी आवास निर्माण गरिसक्नुपर्ने चुनौती छ ।

भूकम्पमा भत्किएका शैक्षिक, स्वास्थ्य संस्था र पुरातात्विक सम्पदाका भवनको पुनःनिर्माणको गति भने निकै सुस्त छ ।

पुनःनिर्माण गर्नुपर्ने ७ हजार ५५३ विद्यालय भवनमध्ये ४ हजार १७२ ओटा विद्यालयकोे पुनःनिर्माण सकिएको छ । बाँकीको पुनःनिर्माण हुनेक्रम जारी छ ।

स्वास्थ्य संस्थाहरूको भवनको अवस्था पनि उस्तै छ । पुनःनिर्माण गर्नुपर्ने एक हजार १९७ ओटा स्वास्थ्य संस्थाका भवनमध्ये ६४३ ओटा अर्थात् ५४ प्रतिशतकोमात्रै पुनःनिर्माण भएको छ । यो वर्षमा ६५ प्रतिशत भवन पुनःनिर्माण सक्ने प्राधिकरणको लक्ष्य छ ।

सरकारी भवन बनाउनुपर्ने काम पनि थुप्रै बाँकी छ । प्राधिकरणको तथ्यांक हेर्ने हो भने ३५ प्रतिशत सरकारी भवनकोमात्रै पुनःनिर्माण भएको छ ।

भूकम्पमा ४१५ ओटा सरकारी भवन भत्किएका थिए । तीमध्ये २४८ ओटाकोमात्र पुनःनिर्माण सकिएको छ । १४५ ओटा भवनको पुनःनिर्माण जारी छ ।

पुरातात्विक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण सबैभन्दा जटिल बनेको छ । सम्पदालाई पुरानै शैलीमा निर्माण गर्नुपर्ने बाध्यता एकातिर छ भने त्यसमा प्रयोग हुने सामग्रीको मापदन्ड पुर्‍याउन चुनौती थपिएको छ ।

भूकम्पमा काठमाडौं उपत्यकाका सातओटा विश्व सम्पदा क्षेत्रमा क्षति पुगेको थियो ।

योबाहेक उपत्यकाभित्रका ४९ ओटा पुराना बस्ती, गोरखा दरबार क्षेत्र, नुवाकोट दरबार क्षेत्र र दोलखा भीमेश्वर मन्दिर क्षेत्रलाई परम्परागत परिभाषित गरिएको छ ।

यस्ता बस्ती पुनःनिर्माणका लागि छुट्टै मापदन्ड र कार्यविधि तयार पारिएको प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामामात्रै ७५३ ओटा पुराततत्विक र सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्नुपर्नेछ । जसमध्ये २८ प्रतिशत अर्थात् २१२ ओटाकोमात्रै पुनःनिर्माण सम्पन्न भएको छ ।

सबैभन्दा चर्चामा रहेका रानीपोखरी, काष्ठमन्डप, धरहरा, सिंहदरबारजस्ता सम्पदाको पुनःनिर्माणले गति लिएको छैन ।

भत्किएका ८३ ओटा ग्रामीण सडकमध्ये तीनओटामात्रै निर्माण भएका छन् । प्राधिकरणसँग गर्नुपर्ने कामको सूची धेरै छ । तर, काम आधा पनि सकिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्रमा पुनःनिर्माण सक्न प्राधिकरणलाई निर्देशन दिएपनि सो लक्ष्य पूरा हुने सम्भावना भने न्यून देखिन्छ ।