
प्रतीक्षा खनाल, राममान डंगोल र राजेन्द्र नापित (इमेज)
काठमाडौं, माघ २ । काठमाडौं उपत्यकाका सडकपेटीमा वायु प्रदूषण मापन गर्ने यन्त्रहरु जडान गरिएको छ ।
कतिपय ठाउँमा जडान गरिएका यन्त्रहरुले त प्रदूषण तान्ने दाबीसमेत गरिएको छ ।
तर, यस्ता यन्त्रहरु कत्तिको भरपर्दा छन् भन्नेचाहिँ सन्देहको घेरामै छ ।
काठमाडौंका सडकछेउमा जडान गरिएका यी यन्त्रहरुले हरपल वायु प्रदूषणको जानकारी दिइरहेका हुन्छन् ।
ललितपुरमा भने वायु प्रदूषण न्यूनीकरण गर्ने यन्त्र जडान गरिएको छ । जसले निश्चित दूरीसम्म वायुमा रहेका धुलोका कणलाई आकर्षित गर्ने दाबी गरिएको छ ।
तर, यी यन्त्रहरुको मापन सही भए/नभएको वा वायु प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने/नगर्ने प्रस्ट छैन ।
यस्ता यन्त्रहरु जडान गर्नुअघि वातावरण विभागबाट प्रमाणीकरण गरी स्वीकृति लिनुपर्नेमा यी यन्त्रहरु बिनाप्रमाणीकरण जडान गरिएका हुन् ।
त्यसैले यिनको कार्य भरपर्दो भए/नभएको यकिन गर्नसकिने अवस्था नरहेको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी बताउँछन् ।
वातावरण विभागले पनि देशका प्रमुख सहरहरुमा १९ ओटा अत्याधुनिक वायु प्रदूषण मापन यन्त्र जडान गरेको छ । जसले हरेक सेकेन्ड वायुमा धुलोका कणहरुको मापन गर्दछ । त्यस मापनलाई विश्लेषण गरी औसत निकालिन्छ ।
वातावरण विभागकाअनुसार वायु प्रदूषण मापन गर्ने यन्त्रले पीएम २.५ लाई ‘मोनिटर’ गर्छ । धुलोको कण ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भएमा स्वास्थ्यमा नकारात्मक असर पुग्दछ ।
तर, सहरी क्षेत्रको वायु प्रदूषणको अवस्था ४० भन्दा बढी रहेको विभागको तथ्यांक छ ।
पछिल्लो तथ्यांकअनुसार काठमाडौंमा धुलोको कण १०७ माइक्रोग्राम प्रतिघनमिटर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्