Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गोंगबुमा ग्यास सिलिन्डर विस्फोट, एकजनाको मृत्यु, चार घाइते


0
Shares

काठमाडौं, माघ २ । काठमाडौंको गोंगबुमा ग्यास सिलिन्डर पड्कँदा बुधबार एकजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब १२ः३० बजेको समयमा श्याम ढुंगानाले सन्चालन गरेको पिस नेपाल ह्यान्डीक्राफ्ट उद्योगमा सिलिन्डर पड्कँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारकाक्रममा अपराह्न ३ः३० बजे महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोक्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार बिसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् ।

घाइतेको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिलिन्डर पड्किएर उद्योगमा आगोलागीसमेत भएको छ । आगोलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रवक्ता बोगटीले बताए । रासस