चोरी आरोपमा दोलखा प्रहरीको हिरासतमा रहेका भीमेश्वर नगरपालिका–५ का १९ वर्षीय रवि केसीको मृत्यु भएको हो ।
केसी बिरामी भएपछि उपचारका लागि प्रस्तावित चरिकोट अस्पतालमा लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजानेक्रममा बाटोमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका केसीले बिहीबार बिहान पेट दुखेको बताएपछि प्रहरी र उनका आफन्तहरुले उपचारका लागि चरिकोट अस्पतालमा लगेका थिए । तर, उनको आन्द्रा फुलेकाले तत्काल अपरेसन गर्नुपर्ने भन्दै अस्पतालले काठमाडौं रिफर गरेको थियो ।
उनको स्वास्थ्य परीक्षणकाक्रममा ४ र ५ दिनअघिदेखि नै आन्द्रा फुलेको पाइएको र ठूलो अपरेसन गर्नुपर्ने भएकाले तत्काल काठमाडौं रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।
केसीको स्वास्थ्यमा गम्भीरखालको समस्या भएकाले उपचारमा ढिलाइ भएका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतक केसीको शव चरिकोट अस्पतालमा राखिएको र शुक्रबार आफन्तले आएर बुझ्ने प्रहरी निरीक्षक प्रधानले बताए ।
केसीलाई सदरमुकाम चरिकोट आसपासबाट ल्यापटपलगायतका सामग्री चोरी गरेको आरोपमा भदौ १९ गते दोलखा प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि सार्वजनिक अपराधका लागि २० गते दोलखा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।










प्रतिक्रिया दिनुहोस्