
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै, दुई हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी दिए ।
प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात/सातजना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा पाँच/पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक यादवले बताए ।
त्यस्तै, नेपाल प्रहरीले पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा ४६२ मतदान केन्द्र र २९५ मतदानस्थल रहेको छ । जसमा सुरक्षाको दृष्टिकोणले २२४ अतिसंवेदनशील र २३८ संवेदनशील मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख सिंहले बताए ।
मतदान हुने दिन असोज २ गते सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेरा बनाएर सुरक्षा दिने प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । आवश्यकता परेकामा थप प्रहरी छिमेकी जिल्लाबाट ल्याउने उनले बताए ।
जिल्लाका १८ ओटै स्थानीय तहका लागि ४६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटाइने जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए ।
जिल्लामा ९ ओटा नगरपालिका र ९ ओटा गाउँपालिकामा १६५ वडा रहेका छन् । जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता संख्या रहेको छ ।
एक लाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी मतदाता छन् । रासस
प्रतिक्रिया दिनुहोस्