१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


जितपुर–सिमरा उपमहानगरः विकासका मुद्दा प्राथमिकतामा (भिडियो)


0
Shares

आर्थिक पूर्वाधारले सम्पन्न जिल्ला भएपनि शिक्षा, स्वास्थ्य र विकासमा पछाडि रहेका जनताबीच विकासको नारा दिँदै दलहरु मतदाता रिझाउन लागेका छन् ।

१६ स्थानीय तह रहेको बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा उम्मेदवारले विकासका मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी अभियान तीव्र पारेका हुन् ।

नेपाली कांगे्रसबाट नगरप्रमुखका प्रत्यासी कृष्णवर्त सिंहले देशलाई भ्रष्टाचारले गाँजेको भन्दै आफ्नो मूल ध्येय भ्रष्टाचारमुक्त नगर बनाउनु रहेको बताउँछन् ।

कर दुरुपयोग रोक्दै विकृतिविरुद्ध लड्दै नगर विकासको लागि जनतासँग हातेमालो गरिने उनको आश्वासन छ ।

एमालेका मेयरका उम्मेदवार डा. कृष्ण पौडेल भने उपमहानगरलाई समृद्ध नगर बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताउँछन् ।

आन्दोलनबाट स्थापित मुद्दा कार्यान्वयन गर्दै अधिकारसम्पन्न स्थानीय तहमा नयाँ सोच र विचारका स्थापित गर्ने भनाइ माओवादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेलको छ ।

पथलैया–वीरगन्ज औद्योगिक करिडोर, सिमरा विशेष आर्थिक क्षेत्र, निजगढ–काठमाडौं द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, सिमरा बर्दिबास रेल्वेलगायतका ठूला योजनाले सम्पन्न जितपुर–सिमरा उपमहानगरले भने जिल्लामै सबैको ध्यान खिच्दै गरेको छ । जहाँ प्रमुख पदमा १५ जनाले उम्मेदवारी दिएका छन् ।

मतदाताले पनि सबै उम्मेदवारको विचार सुनेर विकास गर्नसक्ने सक्षम उम्मेदवारलाई मत दिने तयारीमा छन् ।

अधिकारभन्दा विकास खोजेका जनतालाई पहिला अधिकारसम्पन्न बनाउने पनि उम्मेदवारहरु बताउँछन् ।

उत्तरमा चुरिया पर्वतमालादेखि भारतीय सीमासम्मको भाग जोडिएको बारामा सबै जात, धर्म र समुदायको मिश्रित बसोबास छ ।

बाराका कतिपय गाउँबस्तीमा अझै शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आधारभूत तत्वहरु पुग्न नसक्नु सबै उम्मेदवारहरुका लागि चुनौती रहेको छ ।

भिडियो हेर्नुहोस्