१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


भैंसी बेचेर नगरप्रमुखमा उम्मेदवारी


0
Shares

जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि भैंसी बेचेर उम्मेदवारी दिएका हुन् ।

चारैतिर चुनावी चहल–पहल सुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि रु ७७ हजारमा भैंसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्ररुपमा उम्मेदवारी दिएको उनले बताए ।

साउनको अन्तिम साता आएको बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेकोे अवस्थामा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगरिदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको बताए ।

प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले उनको चुनावका लागि गाउँमा पाँच/पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर (खानपानको व्यवस्था) पनि गरिरहेको जनाएको छ ।

मोतीले आफू ‘ईश्वरको भरोसामा चुनाव लडेको’ र सबै मतदाताले आफूलाई मत दिने आश्वासन दिएकाले आफूले जित्ने विश्वाससमेत व्यक्त गरे । रासस