म्यानमारबाट अहिले फेरि रोहिंग्या समुदाय विस्थापित भईरहेकाले उनीहरु यस पटक पनि नेपाल छिर्ने सम्भावना बढेको छ ।
म्यान्मारमा सन् २०११ मा रोहिंग्या मुस्लिम समुदायमाथि ज्यादती हुन थालेपछि उनीहरु देश छोड्न बाध्य भएका थिए । त्यसै क्रममा केही रोहिंग्याहरु नेपाल छिरेका थिए ।
म्यान्मारबाट बंगलादेश, भारत हुँदै सडक मार्गबाट नेपाल छिरेका करिब साढे दुई सय मुस्लिमहरु अहिले पनि काठमाडौंको कपनमा टहरा बनाएर बसिरहेका छन् । सुरुमा १ सय ९० जना जतिको संख्यामा नेपाल आएका उनीहरुको संख्या अहिले ३ सयको हाराहारीमा पुगेको छ ।
कपनको एउटा क्याम्पमा १ सय ७८ र अर्को क्याम्पमा १ सय ६३ जना रहेका छन् । म्यानमारवाट ज्यान जोगाउन भागेपनि बंगलादेश र भारतमा शरण नपाएपछि नेपाल आएको कपन क्याम्पमा बसोबास गरिरहेका जाफर आलमले बताए ।
उनीहरु सन् २०१२ मा नेपाल छिरे पनि सन् २०१५ देखि क्याम्प नै खडा गरेका बसेका हुन् । उनीहरुले बार्षिक एक लाख २४ हजार रुपैयाँ तिर्नेगरी जग्गा भाडामा लिएर क्याम्प खडा गरेका हुन् ।
त्यसो त, उनीहरुलाई सन् २०१५ सम्म संयुक्त राष्ट्र संघको आप्रवासी सम्वन्धि संगठनले आर्थिक तथा औषधि उपचार खर्च दिएको थियो । त्यसपछि भने उनीहरु ज्यालादारी गरेर दैनिक जीवन गुजारिरहेका छन् ।
मुस्लिम शरणार्थी बसोबास गरिरहेको क्षेत्र कपनमा अहिलेसम्म उनीहरुबाट कुनै सुरक्षा चुनौती नआएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ । तर, अहिले फेरि म्यान्मारमा भड्किएको हिंसाका कारण यो क्याम्पमा रोहिंग्याहरुको संख्या थपिने संकेत स्पष्ट रुपमा देखिएको छ ।
दुई हप्ताअघि मात्रै २६ जनाजति रोहिंग्याहरु यहाँ प्रवेश गरेको जनाईएको छ । यो क्रमलाई बेलैमा नरोक्ने हो भने रोहिंग्याहरुको संख्या नेपालमा थामिनसक्नु नहोला भन्न सकिंदैन । जसको परिणाम भुटानी शरणार्थी समस्याजस्तै हुन पनि सक्छ ।










प्रतिक्रिया दिनुहोस्