१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


वीरगन्ज महानगरको मेयरमा ३२ जना आकांक्षी, सबैको मुख्य एजेन्डा एउटै(भिडियो)


0
Shares

अधिकांश आकांक्षीका चुनावी एजेन्डा भने समान देखिन्छन् । उनीहरु वीरगन्जलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित चुनावी घोषणापत्र लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

सबैभन्दा बढी राजश्व संकलन गर्ने नाकासमेत रहेका वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन ३२ जना आकांक्षी चुनावी प्रतिस्पर्धामा छन् ।

मधेस आन्दोलनको केन्द्रविन्दूसमेत मानिएको वीरगन्जको नेतृत्व लिन अहिले चर्को प्रतिस्पर्धा छ । उम्मेदवारहरु आ-आफ्ना चुनावी घोषणापत्र र एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिसकेका छन् ।

उम्मेदवारहरुका एजेन्डा भने लगभग समान नै छन् । मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारले वीरगन्जको पूर्वाधार विकास, आर्थिक समृद्धि, रोजगारीका अवसर सिर्जना र आर्थिक नगरीलाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले वीरगन्जलाई औद्योगिक व्यापारिक महानगरको रुपमा विकास गर्ने लक्ष्यलाई चुनावी एजेन्डा बताएका छन् ।

हामीसँग कुरा गर्दै मेयरका प्रत्यासी द्विवेदीले व्यापारीहरुको भौतिक सुरक्षा प्रत्याभूति गराउँदै लगानीका अवसर सिर्जना गरिने बताए ।

मेयरका अर्का प्रत्यासी संघीय समाजवादी फोरम नेपालका विजय सरावगी पनि शिक्षा, स्वास्थ्य र रोजगारीको ‘हव’का रुपमा वीरगन्जलाई अघि बढाउने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका सरावगीले आन्दोलनबाट मात्र परिवर्तन हुन नसकेको भन्दै अब उद्योगी व्यवसायी नै वीरगन्जको नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गर्दै आफू चुनावी प्रतिस्पर्धामा होमिएको बताए ।

उनले आफ्नो पहिलो प्राथमिकताका वीरगन्जको पूर्वाधार विकाससँगै औद्योगिक नगरीको रुपमा चिनिएको महानगरपालिकालाई समृद्ध बनाउने लक्ष्य राखेको बताए ।

त्यसैगरी नेकपा एमालेबाट मेयरका प्रत्यासी बसरुद्दिन अन्सारीले पनि महानगरपालिकाभित्रका सडक मर्मत–विस्तार, नाला सुधारलगायतलाई चुनावी एजेन्डा बताएका छन् ।

उनले मधेस आन्दोलनबाट पलायन भएका व्यापारीहरुलाई पुनः वीरगन्जमै फर्कने वातावरण बनाउने प्रतिबद्धतासहित वीरगन्जलाई औद्योगिक महानगरको रुपमा विकास गर्ने लक्ष्य आफूले राखेको बताए ।

उम्मेदवारहरुले आफू मेयरमा निर्वाचित भएपछि गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालिन योजनासमेत सार्वजनिक गरिसकेका छन् ।

तीन महिनाभित्रै महानगरवासीलाई सुधारको अनुभूति दिलाउने प्रतिबद्धता मेयरका उम्मेदवारहरुले गरेका छन् । वीरगन्ज महानगरपालिका मुलुककै आर्थिक राजधानी हो ।

तर मधेस आन्दोलनपछि वीरगन्जबासीले आफूहरु निकै पछाडि परेको अनुभूति गरिरहेका बेला हुन थालेको स्थानीय तहको निर्वाचनले उनीहरुमा केही आशाका किरण देखिन थालेका छन् ।

नगरबासीका आशाका किरणलाई साक्षात पार्ने १ लाख ८ हजारभन्दा बढी मतदाता रहेको वीरगन्ज महानगरपालिकाको आगामी नेतृत्व असोज २ गते हुने निर्वाचनले नै तय गर्ने छ ।

भिडियो हेर्नुहोस