काठमाडौं, माघ १ । विवेकशील साझा पार्टीको बैठकले फुटकाबारेमा समीक्षा गरेको छ ।
पूर्वनिर्धारित् समयअनुसार सोमबारदेखि मंगलबारसम्म पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीका पछिल्लो अवस्थालाई अनपेक्षित र दुःखद् घटनाकारुपमा मूल्यांकन गरिएको जानकारी गराएका छन् ।
बैठकले पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्णसमीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ ।
सो घटनाले प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरेको मूल्यांकन बैठकले गरेको उनले जानकारी दिए ।
पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा अन्योलता उत्पन्न भएकाले त्यसलाई चिर्न पार्टीका विभिन्न तहमा विविध कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
वि.सं. २०७६ फागुनमा पहिलो महाधिवेशन
विवेकशील साझा पार्टीले २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
सो पार्टीले विदेशमा रहेका सबै नेपालीलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सन्चालन गरिने निर्णय गरेको छ ।
बैठकले प्रदेश नम्बर–१ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ ।
साथै, अघिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नम्बर–५ बाट सरस्वती पन्थी भुसाल र गन्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ ।
‘विवेकशील साझा युवा संगठन’ र ‘विवेकशील साझा महिला संगठन’ गठन गरी दुवै संगठनको संयोजकमा क्रमशः अब्दुस मियाँ र सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरिका पार्टी प्रतिनिधि सदस्यसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस









प्रतिक्रिया दिनुहोस्