Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई स्पष्टीकरण


0
Shares

उपसभामुख यादवलाई सप्तरीमा निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको सन्दर्भमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

स्पष्टीकरणमा भनिएको छ, “व्यवस्थापिका–संसद्को उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरेबापत यहाँलाई कारबाही हुनु पर्ने हो होइन ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।”

त्यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई निर्वाचन आचारसंहिता विपरीत नेपाली काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित भएकामा आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा भनिएको छ, “नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको कार्य हुँदा यहाँलाई निर्वाचन आचारसंहित उल्लङ्घन गरेबापत कारबाही गर्नुपर्ने हो होइन ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।” रासस