Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


कर्मचारीले राजनीति गरे ठाडै बर्खास्त गर्न सकिने कानुन बन्दै


0
Shares

सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती सेवा ऐन, २०७४’ मा कुनै पनि कर्मचारीले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिए, राजनीतिक क्रियाकलापमा संलग्न भए वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा निजामती कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी’ हटाउन सकिने प्रावधान राखिएको छ ।

हाल विद्यमान निजामती सेवा ऐन, २०४९ मा शाखा अधिकृतसम्म तहका कर्मचारीले कर्मचारी ट्रेड युनियनका नाममा राजनीतिमा सहभागी हुँदै आएका छन् । संघीयता कार्यान्वयनका लागि तर्जुमा भएको नयाँ निजामती ऐनको मस्यौदामा कुनै पनि तहका कर्मचारीलाई राजनीतिमा भाग लिन पूर्णरूपमा निषेध गरिएको छ ।

खरिदार र शाखा अधिकृतबाट मात्रै प्रवेश

विधेयकले कर्मचारी पदपूर्ति, बढुवा, आरक्षण, ट्रेड युनियन, कर्मचारी समायोजन आदिका विषयमा नयाँ व्यवस्था गरेको छ । प्रस्तावित ऐनले संघबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने सम्पूर्ण निजामती कर्मचारीको वृत्ति विकासलगायत सबै प्रकारका सुरक्षाको समेत व्यवस्था गरेको छ ।

कर्मचारीको उमेर हद यथावत् (५८ वर्ष नै) राखिएको उक्त मस्यौदामा अब निजामती सेवामा प्रवेश गर्दा खरिदार र शाखा अधिकृतबाट मात्रै प्रवेश पाइनेछ । सुब्बा, उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न पाउने व्यवस्था खारेज हुनेछ ।

सबै ट्रेड युनियन खारेजी

प्रस्तावित ऐनमा कर्मचारीका दलगत ट्रेड युनियन खारेजीको व्यवस्था गरिएको छ भने गैरराजनीतिक प्रकृतिको एउटा मात्रै आधिकारिक ट्रेड युनियन राखिएको छ । युनियनका पदाधिकारी अधिकृतसम्मका कर्मचारीबाट प्रत्यक्ष निर्वाचित प्रणालीको आधारमा छनोट हुने व्यवस्था गरिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट