Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


त्रिशूली जलविद्युतको फ्युज शाखामा आगलागी


0
Shares

बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो ।

विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युतगृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिए ।

आगलागीले पुर्‍याएको क्षतिको लगत संकलन भइरहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए । ‘प्रारम्भिक अध्ययन अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति पुगेको छ,’ उनले भने, ‘सातमध्ये केही फिडरमा क्षति देखिएकाले त्यसको परीक्षणपछि मर्मतमा जुट्नेछौं ।’

आगलागीबाट पुगेको क्षतिको आज बिहानैदेखि नै मूल्यांकन भइरहेकाले लगतपश्चात् मर्मतको काम शुरु गरिने केन्द्रले तयारी गरेको छ । आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको रु १५ लाख र वितरण फिडरको रु १० लाख पर्ने भएकाले करिब रु एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले जानकारी दिए ।

दासका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन कम्तीमा दुई दिन लाग्ने देखिएको छ ।

आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पुर्‍याएकाले त्रिशूली जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युतसेवा अवरुद्ध भएको छ ।

केन्द्रमार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुरसहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गापा, किस्पाङ गापा, मेघाङ गापा, रसुवाको कालिका गापा, उत्तरगया गापा, नौकुण्ड गापा र धादिङको नेत्रावती गापालगायतका स्थानमा विद्युतसेवा अबरुद्ध भएको छ । (रासस)