१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


निर्वाचन खर्च घटाउन दलहरुको सुझाव, प्रमुख आयुक्त यादवले दिए चेतावनी


0
Shares

आयोगले बिहीबार काठमाडौंमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरी सुझाव माग गरेको हो ।

निर्वाचन आयोगले राजनीतिक दललाई प्रतिनिधसभाका लागि १४ लाख रुपैयाँ र प्रदेशसभाका लागि सात लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव गरेको छ । आयोगको प्रस्तावमाथि दलका नेताहरुले सुझाव दिएका छन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता कार्यान्वयन र पालना गर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदै उल्लंघन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले अनावश्यक तडक–भडक र अनावश्यक खर्च रोक्न आयोगले नै पहल गर्नुपर्ने बताए । उनले खर्चको सीमा व्यावहारिक हुनुपर्ने पनि बताए ।

नेकपा एमालेका नेता अग्नि खरेलले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताए ।

सामान्य नागरिक चुनाव लड्नै नसक्ने अवस्था आउन लागेको भन्दै उनले निर्वाचन खर्च घटाउन सुझाव दिए ।

साना दलका प्रतिनिधिहरुले भने ठूला दलले आचारसंहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोग मूकदर्शक भएको आरोप लगाएका थिए । उनीहरुले राज्यबाटै दलहरुका लागि निर्वाचन खर्चको व्यवस्था गर्न सुझाव दिए ।

नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल, नयाँ शक्ति पार्टी नेपालका नेता नवराज सुवेदीलगायतले खर्चको सीमा बढ्दा आचारसंहिता उल्लंघनका घटना बढेको बताए ।