Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बालअधिकार ऐन ल्याउने तयारी भइरहेको छ : मन्त्री कोइराला


0
Shares

‘बालमैत्री शासनः बालअधिकारको सम्मान’ भन्ने सन्देशका साथ बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था तथा विद्यालयले यो दिवस मनाइरहेका छन् ।

बाल दिवसका अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले बालअधिकार ऐन ल्याउने तयारी भइरहेको बताइन् ।

उनले सबै किसिमका बालबालिकाको अधिकार समेटेर ऐन जारी गर्ने तयारी सरकारले गरिरहेको भन्दै ऐन जारी भएपछि बालबालिकाका समस्या स्वतः समाधान हुने दाबी गरिन् ।

व्यवस्थापिका–संसदको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले बालअधिकारसम्बन्धी नीति, नियम र कानुनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा विभिन्न जिल्लामा बसेर बालबालिकाका क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित भएकाहरुलाई मन्त्री कोइरालाले सम्मानपत्र र जनही ३० हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएको छ ।

प्रभातफेरी
बाल दिवसकै अवसरमा अनाथ असहाय बाल सुधार संघले काठमाडौंमा प्रभातफेरि निकालेको छ ।

‘बालअधिकार सबैको सरोकार’ भन्ने नारासहित निकालिएको प्रभातफेरी विभिन्न ठाउँको परिक्रमापछि कमलपोखरीमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा अनाथ बालबालिका सहभागी थिए ।

विद्यालयलाई सामग्री प्रदान
बाल दिवसको अवसर पारेर फ्रेन्ड्स अफ लाजिम्पाटले रानीदेवी आधारभूत विद्यालयलाई विभिन्न सामग्री प्रदान गरेको छ ।

बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले कम्प्युटर, संगीत तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत् गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक रामजी गौतमले विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमै बालक्लब पनि सन्चालन गरिएको जानकारी दिए ।