Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सर्वोच्च अदालतमा ‘भिडियो कन्फेरिन्सङ’ सेवा सुरु, ‘हिरासतबाटै बयान/बकपत्र’


0
Shares

फाइल फोटो

सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण, विशेषज्ञको बयान÷बकपत्र गराउन एवं अभियुक्तलाई हिरासतमा राख्ने–नराख्ने जस्ताको निर्णय पनि भिडियो कन्फेरिन्सङमार्फत सम्बन्धित निकायलाई दिइने छ ।

सेवाबाट मुलुकभरका कुनै पनि अदालतमा हुने कार्यक्रममा सीधै प्रधानन्यायाधीश तथा न्यायधीशले प्रशिक्षण, तालिम र गोष्ठीसमेत सम्बोधन गर्ने छन् ।
भिडियो कन्फेरिन्सङ सेवाको बिहीबार (आज) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान र पोखराका मुख्य न्यायधीश पुरुषोत्तम भण्डारीसँग कुराकानी गरेर सुरुआत गरे ।

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीले सो सेवाबाट न्याय सम्पादन छिटो छरितो, सहज र सुलभ हुने बताए । अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले न्यायालयलाई प्रविधिमैत्री बनाउन कन्फेरेन्सिङ सेवा सुरु गरिएको जानकारी दिए ।

अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले न्यायपालिकालाई कागजविहीन बनाउने अवधारणानुरुप कागजी पत्राचारको सट्टा सफ्टवेयरको प्रयोग गरी अनलाइनबाट सेवा दिन थालिएको बताए ।

सर्वोच्च अदालतले न्यायपालिकाको तेस्रो पन्चवर्षीय रणनीतिक योजनानुसार ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ दिन सेवा सुरु गरेको सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए । रासस