Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


भोट हाल्न घर फर्कनेहरु बढेपछि बीपी राजमार्गमा सवारीको चाप बढ्यो


0
Shares

राजधानी काठमाडौंमा बस्दै आएका प्रदेश नम्बर २ का मतदाता जिल्ला फर्कने क्रम बढेसँगै वीपी राजमार्गमा सवारी साधनको चाप बढ्न थालेको छ ।

असोज २ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरु तराईका जिल्लाहरुका गन्तव्यमा पुग्नका लागि वीपी राजमार्गबाट यात्रा गर्न थालेपछि वीपी राजमार्गमा सार्वजनिक तथा नीजी यातायतका साधनहरुको संख्या विगतको तुलनामा एक्कासी बढेको हो ।

निर्वाचनमा आफूले रुचाएको उम्मेदवारलाई मतदान गर्नका लागि वीपी राजमार्ग हुँदै सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाही र रौतहट जिल्लाका विभिन्न स्थानका मतदाताहरु आफ्नो गन्तव्यमा जान थालेपछि वीपी राजमार्गमा साना तथा मझौला खाले सवारी साधनहरुको संख्या बढेको हो ।

यता निर्वाचनको तिथि नजिकिएको र दशैं-तिहार जस्ता चाडपर्वका लागि समेत राजधानी काठमाडौंबाट मध्यपुर्वी तराईका विभिन्न गन्तव्यमा आवत जावत गर्ने यात्रुहरुको संख्या बढ्दै जान थालेका कारण वीपी राजमार्गमा यात्रुबाहक सवारी साधनहरुको चाप एक्कासी बढेर ट्राफिक समस्या उत्पन्न हुन थालेको छ ।

पूर्व पश्चिम राजमार्गको तुलनामा बनेपा-सिन्धुली-बर्दिबास सडकबाट मध्यपुर्वी तराईका विभिन्न जिल्लामा यात्रा गर्दा समय र भाडा समेत कम लाग्ने कारणले पछिल्लो समयमा पूर्वी तराईका विभिन्न गन्तव्यमा पुग्ने यात्रीहरुले वीपी सडकमा संचालन हुने साना तथा मझौला खाले सवारी साधनहरुमा यात्रा गर्न थालेका छन् ।

दैनिक रुपमा ३ हजारको हाराहारीमा वीपी राजमार्गमा सार्वजनिक तथा नीजी सवारी साधनहरुको आवागमन भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्रफिक हवलदार रामेश्वर पाण्डे बताउँछन् ।

काभ्रेको बनेपाबाट सिन्धुलीमाडी हुँदै बर्दिवाससम्मको कुल एक सय अन्ठाउन्न किलोमिटर बनेपा, सिन्धुली, बर्दिवास सडक नेपालको पछिल्लो समयमा निर्माण सम्पन्न भएको नयां प्रविधिको भएकाले नीजी तथा सार्वजनिक यातायातका साधनहरु संचालनमा समेत सहज मानिन्छ ।