आकासमा बादल सक्रिय नहुँदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि भएको छ ।
खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ ।
ती स्थानबाट असाध्यै तातो भएको जिज्ञासा सर्वसाधारणले मौसम पूर्वानुमान महाशाखासँग गरेका छन् ।
मनसुन कमजोर भएसँगै बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा आउन नसकेका कारण गर्मी बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
“वर्षा गराउने जलबास्पयुक्त हावा कमजोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेको छैन ।
अहिले नेपालको मनसुन पनि केही कमजोर छ एक÷दुई दिनपछि यो विस्तारै सक्रिय हुने सम्भावना छ,”–उनले भने ।
मौसमविद् कँडेलका अनुसार चर्को घाम लागे पनि आज अपरान्हपछि बदली भई थोरै स्थानमा वर्षात् हुनेछ, दिउँसो ताते पनि साँझपख मनसुनी गतिविधि बढ्नसक्ने र यो अवस्था अझै केही दिन जारी रहनेछ ।
यो वर्ष १२ जुन (जेठ २९ गते) बाट नेपालमा मनसुन शुरु भएको थियो ।
सामान्यतः सेप्टेम्बर २६ (असोज ८ गते) मनसुन सकिने भए पनि यो वर्ष केही लम्बिने सम्भावना रहेको मौसमविद्को आँकलन छ । चर्को घाम लागेकाले अधिकतम तापक्रम धेरै नबढे पनि गर्मी महसुस भएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबै भन्दा बढी विराटनगरमा ३५, भैरहवामा ३५, धनगढीमा ३३, दिपायलमा ३३ र नेपालगञ्जमा ३२ डिग्रिसेल्सियस रहेको छ ।
सबैभन्दा कम ओखलढुंगामा अधिकतम २३ रहेको छ । आज काठमाडौंको अधिकतम २९ र न्यूनतम १८ डिग्रिसेल्सियस रहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्