१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


प्रदेश नम्बर–२ मा ७३ प्रतिशत मतदान : निर्वाचन आयोग


0
Shares

८ जिल्लाका १३६ स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म उल्लासमय वातावरणमा मतदान भएको हो । वीरगन्ज महानगरपालिकामा भने साँझ ७ बजेसम्म नै मतदान जारी रहेको छ ।

प्रदेश नम्बर–२ को निर्वाचनमा समग्रमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाइएको छ ।

सबैभन्दा बढी रौतहटमा ७५ प्रतिशत मत खसेको छ भने बारामा पनि ७५ प्रतिशत हाराहारीमै मतदान भएको छ ।

यस्तै, सप्तरीमा ६५ प्रतिशत, सर्लाहीमा ७० प्रतिशत, पर्सामा ७२ प्रतिशत, महोत्तरीमा ६५ प्रतिशत, सिराहामा ७० प्रतिशत र धनुषामा ७० प्रतिशत मत खसेको पनि आयोगले जनाएको छ ।

यो निर्वाचनबाट प्रदेश नम्बर–२ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

प्रदेश नम्बर–२ लाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशील मानिएपनि मतदान भने शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।

निर्वाचनमा ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गर्नेक्रम पनि सुरु भइसकेको छ ।

मतपेटिकाहरु संकलन गरेपछि दलीय सहमति जुटाएर मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकृतहरुले बताएका छन् ।