Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान


0
Shares

उच्चस्तरीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा न्यूयोर्क गएका हुन् ।

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्तासमेत गर्ने जनाइएको छ ।

‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ हुने महासभाको उच्चस्तरीय छलफल मंगलबारदेखि सुरु हुँदैछ ।

महासभाकाक्रममा न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले असोज ५ गते अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमन्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्रसचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्रसंघका स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमन्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।