Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


राष्ट्रपति ट्रम्पको भाषण ‘भुकिरहेको कुकुरको आवाज’ : उत्तर कोरिया


0
Shares

बुधबार (हिजो) राष्ट्रसंघको महासभालाई राष्ट्रपति ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाका विदेशमन्त्री रि योङहोले विहीबार (आज) भुकिरहेको ‘कुकुरको आवाज’ भएको पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् ।

विदेशमन्त्री रिले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, ‘एउटा भनाई छ–कुकुर भुक्दै गर्दा पनि ‘परेड’ खेल चलिरहन्छ ।’ उनले भने ‘यदि ट्रम्पले हामीलाई कुकुरको भुकाइमार्फत अचम्भीत पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन् ।’

राष्ट्रपति ट्रम्पले महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाले अमेरिका र उसका मित्रराष्ट्रलाई खतरा पुयाइरहे उसलाई पूर्ण रुपमा ‘नष्ट गरिदिने’ चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पले दिएकोे चेतावनीलाई प्रतिक्रिया स्वरुप उत्तर कोरियाले औपचारिक रुपमा न्यूयोर्कमै भुकिरहेको ‘कुकुरको आवाज’को संज्ञा दिएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, ‘रकेट म्यान अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन् ।’

शुक्रबार (भालि) राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने तयारीमा रहेका उत्तर कोरियाली विदेशमन्त्री रिले राष्ट्रपति ट्रम्पलका सहयोगी र सल्लाहकारप्रति समेत दुख व्यक्त गरेका छन् ।

विश्वका विज्ञहरुले उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको बताइरहेको समयमा अमेरिका र उत्तर कोरियाबीच फेरि विवाद चर्किएको छ ।

राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको बताएको थियो ।

त्यसपछि राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथी नयाँ प्रतिबन्धहरु लगाउने प्रस्ताव पारित गरेको थियो ।

राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा उच्चारण समेत नगरेका राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई पूर्ण रुपमा नष्ट गरिदिने चेतावनी दिँदै इरानको चर्को आलोचना निन्दा गरेका थिए ।

त्यसलगत्तै इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को संज्ञा दिएका थिए । एजेन्सी