१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


प्रदेश–२ को मतगणनाको गति सुस्त, के गर्दैछ निर्वाचन आयोग ? (भिडियो)


0
Shares

मतगणनामा भइरहेको ढिलाइप्रति मतदाता निराश भएका छन् । तर, निर्वाचन आयोगले भने आफूहरुको कारण मतगणनामा ढिलाइ नभएको दाबी गरेको छ ।

निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण मतपरिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने दाबी गरेको थियो । तर, मतगणना सुरु भएको तीन दिन बितिसक्दा ५० प्रतिशत स्थानीय तहकोसमेत मतपरिणाम आउन सकेको छैन ।

प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जको मतगणना झन् सुस्त छ ।

मतगणना सुस्त भएपछि आलोचना खेपिरहेको आयोगले बिहीबार थप तीन मतगणना समूह थपेको छ भने अझै दुई समूह थप्ने तयारीमा छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आफूहरु पाँच दिनभित्र सबै मतपरिणाम सार्वजनिक गर्ने योजनाअनुसार नै मतगणना गरिरहेको दाबी गरे ।

सुस्त भएको मतगणनालाई छिटो सम्पन्न गर्न विभिन्न मतगणनास्थलमा निर्वाचन अधिकृतहरूले थप मतगणना टोली गठन गरी मतगणना अघि बढाइरहेको र आवश्यक परे मतदान अधिकृतलाई परिवर्तन गरेर भएपनि मतगणना तीव्र पार्ने आयोगको योजना छ ।

आयोगका प्रवक्ता ढकालले आफूहरु पाँच दिनभित्र सम्पूर्ण परिणाम सार्वजनिक गर्ने योजनाअनुसार अघि बढिरहेको भएपनि दलका प्रतिनिधिले स–साना कुरामा विवाद झिकेकाले ढिलाइ भएको टिप्पणी गरे ।

निर्वाचन आयोगले असोज ७ गते साँझसम्म अधिकांश स्थानीय तहको मतपरिणाम आइसक्ने जनाएको छ ।

७ गते साँझसम्म पनि मतपरिणाम आउन बाँकी रहने उपमहानगरपालिका र महानगरपालिकामा थप कर्मचारी खटाएर मतगणनामा तीव्रता दिने आयोगको भनाइ छ ।

मतपरिणाम तीव्रगतिले अगाडि बढाउन राजनीतिक दलका प्रतिनिधिको सहयोग प्राथमिक विषय भएको आयोगको भनाइ छ ।

कतिपय स्थानीय तहका मतदाताले निर्वाचन आयोगको काम र शैलीप्रति प्रश्नसमेत उठाएका छन् ।

तर, कतिपय स्थानहरुमा भने दलका प्रतिनिधिले अनावश्यक विवाद सिर्जना गरेकाले मतगणनामा ढिलाइ भइरहेको छ ।

भिडियो हेर्नुहोस्