
राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गर्दै नेता किमले राष्ट्रसंघमा ट्रम्पले गरेको भाषणकै लागि निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
आफ्नो मिशनमा आफू अडिग रहेको भन्दै नेता किमले अमेरिकी धम्कीले आफू नतर्सने र नरोकिने प्रष्ट पारे । आफू र आफ्नो देशलाई अपमान गरेको भन्दै ट्रम्पलाई आफ्नो बोलीको मूल्य चुकाउन तयार रहन किमले चेतावनी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार गरेको सम्बोधनमा अमेरिका आफैँ प्रतिरक्षामा उत्रनु पर्यो भने उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त बनाउने चेतावनी दिएका थिए ।
किमलाई ‘रकेटम्यान’को संज्ञा दिँदै ट्रम्पले किम आत्महत्याको मार्गमा रहेको टिप्पणी गरेका थिए ।
दुई देशबीचको सम्बन्ध अत्यन्त तिक्त बन्दै गएका बेला दुई नेताको जुहारी पनि चर्किदै गएको हो । विश्वभरको आग्रह, चेतावनीकै बीच पनि उत्तर कोरियाले बारम्बार लामा तथा छोटा दूरीका मिसाइल परीक्षण गरिरहेको छ ।
यसअघि राष्ट्रसंघमै उत्तर कोरियाली विदेश मन्त्री रि योङ होले ट्रम्पको अभिव्यक्तिलाई कुकुर भुकाई भन्दै आलोचना गरेका थिए । उनले अझै हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी पनि दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्