Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘नेपालको संविधान समावेशिताका लागि विश्वमै अनुपम’


0
Shares

 

संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, “संविधानले राज्यका तीनै अंगबीच शक्ति सन्तुलन र नियन्त्रणको उत्कृष्ट व्यवस्था गरेको छ, स्वतन्त्र न्यायापालिका नेपाली प्रजातन्त्रको खम्बा हो ।”

उनले सबैको सहभागितामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको बताउँदै उनले यसै वर्ष संविधानअनुसारका संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको जानकारी दिए ।

नेपालले विभिन्न चुनौतीका बाबजुद सशस्त्र द्वन्द्वलाई संवाद र वार्ताका माध्यमबाट निष्कर्षमा पुर्‍याएको घटना विश्वका लागि नै प्रेरणादायी हुने छ भन्दै उनले यसै परिवेशमा नेपालले राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा दिएको उम्मेदवारीप्रति सहयोग गर्न विश्व समुदायलाई आग्रहसमेत गरे ।

समारोहमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलगायत राष्ट्र संघ र विभिन्न देशका उच्च अधिकारी सहभागी थिए ।

नेपालका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईलगायत उपस्थित थिए ।

प्रधानमन्त्री उच्चस्तरीय भेटघाटमा

राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन यहाँ आएका प्रधानमन्त्री देउवाले शुक्रबार पनि विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवा र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच राष्ट्रसंघ मुख्यालयमा भएको भेटवार्तामा दुई मुलुकबीचका आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको परराष्ट्र सल्लाहकार डा भट्टराईले जानकारी दिए ।

सो अवसरमा उनीहरुबीच राष्ट्र संघजस्ता विश्व मञ्चमा साझा विषयमा एक भएर प्रस्तुत हुनेबारेमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले शुक्रबारै अमेरिका र आसपासका मुलुकका नेपाली राजदूतलाई यहाँ बोलाई सम्बन्धित दूतावासका कामकारबाही र चुनौतीका बारेमा चासो राख्नाका साथै मुलुक र जनताको हितमा काम गर्न निर्देशन दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री महरा, सल्लाहकार डा भट्टराई, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनकुमार कार्की, क्यानडाका राजदूत कालीप्रसाद पोखरेल, ब्राजिलका राजदूत ताराप्रसाद पोखरेल, अमेरिकाका लागि नेपालका महावाणिज्यदूत मधुकुमार मरासिनी राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी थिए ।

प्रधानमन्त्री देउवाले आज राष्टसंघको ७२ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।