Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


चाडबाडमा भरपर्दो सुविधा दिन अख्तियारको निर्देशन


0
Shares

आयोगमा आइतबार सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो ।
आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको विश्वासिलो र भरपर्दो वातावरण बनाउन, खाद्य तथा खाद्यान्न आपूर्तिमा विशेष ध्यान दिन, स्वस्थकर खाद्यपदार्थको आपूर्ति, व्यवस्थापन तथा नियमित अनुगमन गर्न सम्बद्ध निकाय चनाखो र नियमित क्रियाशील हुन आग्रह गरे ।
यस्तै, सार्वजनिक सवारीसाधनको उचित व्यवस्था गर्न, यात्रु ठगिने तथा मर्कामा पर्ने अवस्थाको अन्त्य गर्न आग्रह गर्दै उनले नागरिकको तहबाट आयोगमा धेरै उजुरी आएकाले जसरी पनि समाधान गर्न निर्देशन दिए । उनले भने, ‘नागरिकले गुनासो गरेका छन् । यात्रु ठगिएको, धेरैलाई एकै टिकट दिएर यातायात व्यवसायीले ठगी गरेको भन्ने पनि उजुरी छ । त्यसलाई समाधान गर्नुस् ।’

उनले सरकारी निकायकै बीचमा समन्वय हुन नसक्नु दुःखद रहेको भन्दै आवश्यक समन्वय गरेर जनताको सेवामा लाग्नसमेत सबैलाई आग्रह गरे ।

आयुक्तहरु डा सावित्री थापा गुरुङ, राजनारायण पाठक, डा गणेशराज जोशी र नवीन घिमिरेले सरकारी निकाय जनताप्रति जिम्मेवार भएर काम नगर्दासम्म प्रभावकारी परिणाम निस्कन नसक्ने भएकाले एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले सुपथ मूल्य पसल प्रभावकारी नभएको, सोझा साझा यात्रु बढ्ता ठगिएको, प्रतिबद्धता मात्रै व्यक्ति गर्ने, काम नगर्ने प्रवृत्ति हाबी भएको, सबैले सबैलाई निर्देशन दिने तर कार्यान्वयन नहुने अवस्था आएको भन्दै नीतिगत, कानुनी र व्यावहारिक रुपमा नै समस्याको समाधान खोज्न सरकारका उच्च अधिकारीलार्ई निर्देशन दिए ।

आयोगका सचिव राजन खनालले चाडबाडको समयमा सार्वजनिक निकायले गरिरहेको काम–कारबाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आयोगले छलफल गरेको जानकारी दिए ।

उनले खाद्यान्नको आपूर्ति, गुणस्तरको विषयमा नागरिकको तहबाट सयौँ उजुरी आएको, ठगी नियन्त्रण हुन नसकेको तथा खाद्यान्नमा मिसावट भएको, अखाद्य वस्तु काठमाडौँ भित्रिएको, कालोबजारी नियन्त्रण हुन नसकेको र राज्यको राजश्वसमेत गुमेको भन्ने गुनासो सम्बोधन गर्न सहयोग पु¥याउने लक्ष्यका साथ आयोग सहयोगी हुन चाहेको बताए ।

छलफलमा राजश्व सचिव शिशिर ढुंगानाले न्यून बिजकीकरण गर्नेलाई कानुनी दायरामा ल्याउन भन्सार विन्दुबाटै नयाँ प्रणालीका आधारमा जाँच गर्न थालिएको बताए । राजश्व उठाउने काममा कुनै पनि चलखेल नहोस् भन्नेतर्फ मन्त्रालय सहज रहेको उल्लेख गर्दै उनले दैनिक तीन दर्जनभन्दा बढी अनुगमन टोली खटाइएको, चोरी–पैठारी नियन्त्रणका लागि सुरक्षा निकायको सहयोगमा भन्सार विन्दुमा नै विशेष संयन्त्र खडा गरिएको जानकारी दिए ।

उनले भन्सार विन्दुमा गलत तवरले मालवस्तु आयात गर्ने व्यवसायीलाई समेत कारबाही गराउन मन्त्रालयले बजारमा नै गएर खाता पाताको अध्ययनदेखि वस्तु र सेवाको अवस्थाबारे समेत अध्ययन गरिरहेको उल्लेख गरे ।

गृह सचिव लोकदर्शन रेग्मीले चाडबाडलाई केन्द्रित गरेर सुरक्षा योजना बनाइएको, ‘हाम्रो प्रहरी टोल टोलमा’ जस्ता अभियानात्मक काम शुरु भएको, नाकामा विशेष सुरक्षा सतर्कता अपनाइएको, यात्रुको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको, चोरी नियन्त्रणका लागि सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सहजरुपमा यातायात सञ्चालनका लागि मन्त्रालयले विशेष टोली तम्तयारी हालतमा राखेको र राजमार्गमा कुनै अवरोध आए एकाध घण्टा भित्रै खुलाइने उल्लेख गरे ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, आपूर्ति मन्त्रालयका निमित्त सचिव मुकुन्द पौडेल, नेपाल खाद्य संस्थान, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, नापतौल तथा गुणस्तर विभाग, नेपाल प्रहरी, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति थियो । (रासस)