Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


यातायात व्यवसायीमाथि निगरानी गर्न सादा पोशाकमा प्रहरी परिचालन


0
Shares

फाइल फोटो

नेपाल यातायात महिला चालक समूहले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सोही मन्त्रालयका राज्यमन्त्री सीता गुरुङले सर्वसाधरण यात्रुलाई ठगी गर्ने व्यवसायीमाथि निगरानी गर्न सादा पोसाकमा प्रहरी तथा कर्मचारीलाई परिचालन गरिएको बताइन् ।

चाडबाडको मौका छोपेर चलनचल्तीभन्दा दोब्बर भाडा लिएको समाचार आएपछि सरकारले त्यस्ता व्यापारीलाई कारबाही गर्ने निर्णय गरेको बताउँदै उनले ठगीमा संलग्न सम्बन्धित व्यवसायीको सवारीलाई दिइँदै आएको सडक इजाजतसमेत खारेज गर्न सकिने जानकारी गराइन् ।

राज्यमन्त्री गुरुङले पेट्रोलियम पदार्थको खरिदमा ठूलो धनराशि विदेशिएकाले यसको प्रयोगलाई न्यूनीकरण गर्न विद्युतीय सवारीसाधनको प्रयोगकर्तालाई विभिन्न सहुलियत उपलब्ध गराइने नीति रहेको बताइन् । उनले काठमाडौंमा करिब दुई हजार टेम्पो चालक महिला रहेको बताउँदै उनीहरुको आयआर्जनको वैकल्पिक व्यवस्था नगर्दासम्म टेम्पो सन्चालनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

काठमाडौं महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चित गरिएको भए पनि उनीहरुको प्रतिनिधित्व हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

नेपाल यातायात महिला चालक समूहका अध्यक्ष मीना चन्दले समाजमा महिला सशक्तीकरणका लागि उनीहरुलाई उत्पादनसँग जोड्न व्यावसायिक तालिम जरुरी रहेको बताउँदै आफ्नो संस्थाले महिलालाई चालक तालिम उपलब्ध गराएर दक्ष बनाउने गरेको र उनीहरुलाई सरकारी सवारीसाधन सन्चालनमा प्राथमिकतामा राख्नुपर्ने माग गरे । रासस