Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


सेनाका खगेन्द्र रानाभाट भए यस वर्षको ‘लिगलिगे राजा’


0
Shares

दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी घर भएका खगेन्द्र रानाभाटलाई श्रीपेच लगाएर यस वर्षको ‘लिगलिगे राजा’ घोषणा गरिएको हो ।

खेलकुदमन्त्री राजन केसीले श्रीपेचसहित रु ५० हजार पुरस्कार रानाभाटलाई सोमबार पुरस्कृत गरे ।

रानाभाटले एक घन्टा दुई मिनेटमा निर्धारित १३.५ किलोमिटर दौड पूरा गरेका हुन् । चेपे नदीस्थित चेपेघाटदेखि लिगलिगकोट डाँडासम्म दौड पूरा गर्नुपर्ने नियम छ ।

यस्तै, नेपाली सेनाकै रामजी बस्नेतले एकघन्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो भएका छन् । बस्नेतलाई रु ३० हजार पुरस्कारसहित मन्त्री केसीले पुरस्कृत गरेका छन् ।

त्यस्तै, नेपाली सेनाका अनिश बस्नेतले एकघन्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो भएका छन् । बस्नेतले रु. २० हजार नगद पुरस्कार पाए । ११७ जना धावकले दौड प्रतियोगितामा भाग लिएको आयोजक संस्थाका उपाध्यक्ष सरोज देवकोटाले बताए । दौडमा स्वदेशी, विदेशी धावक सहभागी हुन पाउँछन् ।

दौड उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले लिगलिग दौडलाई निरन्तरता दिन मन्त्रालयतर्फबाट बजेटको व्यवस्था गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य हिरण्यमान श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङ, महासमिति सदस्य प्रकाशचन्द्र दवाडी, उद्योग वाणिज्य संघका महासचिव भगवानबाबु मास्के, काँग्रेस नगर सभापति चन्दनबाबु खत्री, पालुङटारका प्रमुख दीपकबाबु कडेँंललगायतले ऐतिहासिक लिगलिगकोटमा पूर्वाधार खडा गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा जोड दिएका थिए । रासस