
संयुक्त राष्ट्रसंघको महासभाले २०१३ मा एक प्रस्ताव पारित गरी २६ सेप्टेम्बरलाई परमाणु अस्त्र समूल नस्ट दिवसकारुपमा मनाउने निर्णय गरेको थियो ।
तर, राष्ट्रसंघको भावनाविपरीत आजपनि विश्वमा आमविनाशकारी हतियारको होड तीव्र बनिरहेको छ ।
पछिल्लोपटक उत्तर कोरिया प्रकरणले विश्वमा तनाव बढिरहेको छ । यद्यपि, विश्वमा अहिलेपनि सबैभन्दा बढी आमविनाशकारी हतियार रुससँग रहेको छ ।
विश्व महाशक्ति अमेरिकालाई पछि पार्दै रुसले ठूलो मात्रामा परमाणु हतियार निर्माण र संग्रह गरेको हो ।
वासिङटनस्थित आम्र्स कन्ट्रोल एसोसिएसनको करिब सात महिना पुरानो प्रतिवेदनअनुसार रुससँग सात हजार त्यस्ता विनाशक परमाणु हतियार छन् भने अमेरिकासँग ६ हजार ८०० को संख्यामा रहेका छन् ।
विश्वमा रहेको १५ हजार विनाशक हतियारमा ९० प्रतिशत त यी दुई मुलुकसँगमात्र रहेको छ । जबकि, तेस्रो नम्बरमा रहेको फ्रान्ससँग ३००, चौथोमा रहेको चीनसँग २६० र पाँचौंमा रहेको ब्रिटेनसँग २१५ थान आमविनाशकारी हतियार रहेका छन् ।
पाकिस्तानसँग १४०, भारतसँग ११०, इजरायलसँग ८० तथा उत्तर कोरियासँग १० को संख्यामा यस्ता विनाशकारी हतियार रहेको उक्त प्रतिवेदनले जनाएको छ ।
जसको दुरुपयोगले सारा संसारलाई ध्वस्त बनाउने क्षमता राख्दछ । ब्रिटेनको तुलनामा अमेरिकासँग ३१ तथा चीनको तुलनामा २६ गुना बढी हतियार रहेको तथ्यांक छ ।
परमाणु हतियार भने अहिलेपनि अमेरिकाभन्दा रुससँग बढी रहेको छ । जबकि, सन् २०१० मा प्रागमा भएको एक सम्मेलनमा सन् २०१८ सम्ममा हतियार कटौती गरी अमेरिका र रुसले समान संख्यामा ल्याउने सहमति गरेका थिए । (एजेन्जी)
प्रतिक्रिया दिनुहोस्